बिर्तामोड, असार १२ । महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरुको संस्था महेन्द्र रत्न मावि पूर्वविद्यार्थी समाजले आफ्ना गुरूहरुलाई सम्मान गर्ने भएको छ ।

असार २९ गते गुरू पूर्णिमाको अवसरमा ७५ वर्ष माथि उमेरका गुरूहरुलाई एक कार्यक्रमका बीच समाजले सम्मान गर्ने भएको हो । विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा र क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीहरुलाई यस समाजमार्फत् जोडेर विद्यालयको उन्नति र विकासमा सहयोग पुर्याउने उद्देश्यले समाजको अवधारणा ल्याएको समाजका संस्थापक अध्यक्ष एवम् अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

आफू पढेको विद्यालका अग्रज गुरूहरुलाई गुरू पूर्णिमा जस्तो महत्वपूर्ण दिनमा सम्मान गरौं भन्ने प्रस्ताव संस्थापक अध्यक्ष पोखरेलबाट आएको र त्यसलाई सर्वसम्मतिले पारित गर्ने निणर्य गरेको समाजका उपाध्यक्ष एवम् अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटीले बताए । यसैबीच असार २९ गते गरिने कार्यक्रममा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहभागिता जनाएर कार्यक्रमलाई उत्कृष्ट बनाउन समाजले सबै पूर्वविद्यार्थीहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्