बिर्तामोड, असार १२ । योजना आयोग प्रदेश नं. १ का उपाध्यक्ष डा. पूर्णकुमार लक्समले अबको राजनीति आयआर्जनसँग जोडिएन भने देश अत्यन्तै नाजुक ढंगबाट फस्ने बताएका छन् ।

आइतबार बिर्तामोडमा आयोजित परम्परागत मदिरा(कोदोको रक्सी)प्रवर्द्धन समितिसँग भएको अन्तरक्रियामा आयआर्जन र समृद्धिका विषयलाई लिएर उनले उक्त कुरा बताएका हुन् ।
‘हामीले संविधानमा समाजवाद उन्मुख देश भनेर त लेख्यौं तर, समाजवादभित्र समृद्ध बन्ने योजना चाहिँ ल्याउन नसक्दा मुलुक संकटको घडीमा फस्दै गरेको अवस्था छ’उनले भने,‘त्यसैले आज आर्जनका बाटोहरु पहिल्याउनु पर्छ ।’

‘नेपालका राजनीतिक दलले समृद्धिको ढोका खोल्न नसकेको धेरै उदाहरणहरु छन् । शिक्षित र दिक्षित युवाशक्ति विदेशी परजीवि भएर हिंडेको हुँदा त्यस्ता युवालाई स्वदेशमा नै प्रयोग गर्नसके देशले नयाँ मोड लिने देखिन्छ ’उनले भने ।

प्रवर्द्धन समितिले घरेलु मदिरालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना अत्यन्तै राम्रो र राज्यलाई सहयोग पुग्ने सन्देश हो भन्दै तर मदिरा ऐन ३१ र नियमावली ३२ ले केही प्रावधानमा अवरोध सिर्जना भएको हुँदा त्यसलाई फुकाउन दललाई झकझकाउनुपर्ने र घरेलु रक्सीबाट देशलाई हुने फाइदाका विषयमा चर्चा गर्नुपर्ने उनको भनाई छ ।सोही अवसरमा डा. लक्समलाई प्रवर्द्धन समितिले सम्मान गरेको थियो ।

प्रवर्द्धन समितिका अध्यक्ष टेकबहादुर खजुमको सभापतित्वमा भएको कार्यक्रममा बुद्धिजीवि देशु वनेम, महिला नेतृ सरस्वती सिंघक, शान्ता तामाङ, दिलकुमार नेम्वाङ, बिरेन मेचे, एलपी पालुङ्वालगायतले डा. लक्समसँग जिज्ञासा राख्दै आर्थिक आयआर्जनमा अगाडि बढाउन प्रवर्द्धन समितिले प्रदेश सरकारलाई सहयोग गर्ने समेत बताए ।

अन्तरक्रियापछि समितिले विभिन्न समिति निर्माण गरेको छ । प्रदेशस्तरीय प्रवर्द्धन समितिलाई फराकिलो बनाउन इलाम जिल्लाबाट साधना फागो, गीता याम्फु राई, मोरङबाट शान्ता तामाङ, संखुवासभाबाट नर्बु शेर्पा, सुनसरीबाट जेन्टल लावती, झापाबाट हरि नुनिया धिमाललाई मनोनयन गरेको छ ।
उक्त समितिले प्रदेशस्तरीय राजनीतिक दलसँग अन्तरक्रिया गर्दै काठमाण्डौका बुद्धिजीवि, जातीय संगठनका प्रमुख, अर्थविद्सँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्