झापा , असार १३ । शिवसताक्षी नगरपालिकाको ६ नं वडा कार्यालयले बिनासंझौता श्री महादेव बृजेश्वरनाथ शिवालय मन्दिरको जग्गामा जवर्जस्तीकृषि बजार निर्माण गर्न थालेको छ ।

बिनासंझौता निर्माण थालिएको अक्सन सेन्टर

मन्दिर समितिले आफूहरुको सहमतिबिना निर्माण कार्य नगर्न नगराउन वडा कार्यालयलाई पटक पटक आग्रह गर्दा समेत नटेरेपछि मन्दिर समिति अब न्यायका लागि अदालत जाने भएको छ ।
मन्दिरको नाममा रहेको शिवगञ्ज बजारको कि. नं. ५९१ को एक विगाह एक कठ्ठा जग्गामा वडा कार्यालयले आफूखुशी कृषि बजार निर्माण गर्न थालेको हो । वडा कार्यालयले कृषि बजारको लागि भन्दै मन्दिर समितिको नाममा रहेको कि.नं. को ८ कठ्ठा १० धुर जग्गा लिजमा लिएको थियो । ८ कठ्ठा १० धुर जग्गा लिएवापत् प्रत्येक वर्ष ३१ हजार रुपैयाँ भाडा दिने भन्दै मिति २०७७ बैशाख २२ गते वडा कार्यालय र मन्दिर समितिबीच संझौता भएको थियो । लिजमा लिएको ८ कठ्ठा १० धुर जग्गामा कृषि बजार निर्माण गरेको वडा कार्यालयले संगै रहेको १ विगाह १ कठ्ठा जग्गा पनि जवर्जस्ती अतिक्रमण गरी निर्माण थालेको हो । एउटा जग्गा दिँदा अर्को जग्गा समेत कव्जा गरेपछि मन्दिर समितिले निर्माण कार्य रोक्न पटकपटक वडा कार्यालयलाई लिखित र मौखिक जानकारी गराएको छ । तर , वडा कार्यालयले त्यसलाई बेवास्ता गरी निर्माण कार्य जारी राखेको हो । मन्दिरको नाममा दर्ता कायम रहेको शिवसताक्षी साविक शिवगञ्ज १ को कि. नं. ५९१ को ज.वि. १–१–० जग्गामा मन्दिर समितिको संझौताबेगर संरचना निर्माण गरिरहेकोमा निर्माण कार्य रोक्नका लागि समितिका अध्यक्ष श्रीप्रसाद राजवंशीले २०७८ जेठ २८ गते वडा अध्यक्ष मनोज खुलाललाई पत्र पठाएका थिए । त्यसको बोदार्थ शिवसताक्षी नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय शिवगञ्जलाई दिइएको थियो । तर, त्यसलाई वडाध्यक्ष खुलालले वास्ता गरेनन् ।

संझौता गरिएको जग्गामा बनाइएको कृषि बजार

भर्खरै सम्पन्न मन्दिर समितिको १२ औं साधारणसभाले आफ्नो जग्गामा हुँदै गरेको भौतिक संरचनाको निर्माण कार्य अविलम्ब रोक्न शिवसताक्षी नगरपालिका र ६ नं वडा कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ । फेरि पनि आफूहरुको आग्रहलाई बेवास्ता गरी निर्माण कार्य नरोके वा रोक्न नलगाए कानुनी न्यायका लागि अघि बढ्ने निर्णय समेत गरेको छ ।

वडा कार्यालयले गरेको संझौता

यस्तो छ वडा कार्यालयले गरेको संझौता

मन्दिरको नाममा दर्ता कायम रहेको कि. नं. ५९२ को ज.वि. ०–८–१० को खाली जग्गा कृषि थोक बजार प्रयोजनका लागि बार्षिक ठेक्का ३१ हजार लिने दिने गरी वडा कार्यालयसंग २०७७ बैशाख २२ गते सोमबार संझौता भएको थियो । मन्दिर समितिका अघिल्लो अध्यक्ष कृष्ण लुइटेलको कार्यकालमा निर्णय भई त्यसपछिका अध्यक्ष श्रीप्रसाद राजवंशीले वडा कार्यालयसंग सो संझौता गरेका हुन् । संझौतामा वडाध्यक्ष मनोज खुलाल र मन्दिर समिति अध्यक्ष राजवंशीले हस्ताक्षर गरेका छन् । जुन संझौता यसप्रकार रहेको छ ।
१) शिवगंज कृषि उपज बजारका लागि शिवगंज कृषि थोक बजार रहुन्जेलसम्म यस श्री गौरीशंकर बृजेश्वर महादेव शिवालय मन्दिरको नाममा माथि उल्लेखित जग्गा शिवसताक्षी न.पा.६ नं. वडा कार्यालयलाई उपलब्ध गराईराख्ने ।
२) शिवगंज कृषि थोक बजारले उपभोग गरेको श्री गौरीशंकर बृजेश्वर महादेव शिवालय मन्दिरको जग्गाको ठेक्कावापत सम्झौता भएको मितिदेखि लागु हुनेगरी ०–८–१० जग्गाको ठेक्कावापतको रकम प्रतिबर्ष रु ३१०००।–( अक्षेरुपी एकतिस हजार मात्र) मन्दिर समितिलाई शिवसताक्षी न.पा.६ नं. वडा कार्यालयले प्रत्येक आर्थिक वर्षको माघ मसान्तसम्ममा ठेक्का रकम उपलब्ध गराउने ।
३) उल्लेखित जग्गाको तोकिएको ठेक्का रकममा नघटाई प्रचलित कानुन अनुसार समायोजन गर्दै जाने ।
४) जग्गाको सम्झौताको हकमा उक्त जग्गामा बजार संचालन हुन नसकेमा सो जग्गामा निर्माण भएका भौतिक संरचना प्रचलित नेपाल सरकारको कानुन अनुसार हुने छ र जग्गाको स्वामित्व मन्दिरमा नै रहनेछ ।
५) यदि सर्त सम्झौता बमोजिमको ठेक्का रकम मन्दिर व्यवस्थापन समितिलाई तोकिएको समयमा उपलब्ध नगराएमा सोही मितिबाट मन्दिर समितिले सम्झौता भंग भएको निर्णय सबै पक्षलाई मान्य हुनेछ।

निर्माण कार्य रोक्न पठाइएको पत्र

किर्ते माइन्युट गरेको दावी

२०७७ फागुन २२ गते मन्दिर समितिको बार्षिक साधारणसभा भएको थियो । साधारणसभा सम्पन्न भइसकेर खाता बन्द गरिसकेको अबस्थामा एउटा समूहले कि. नं. ५९१ को ज.वि. १–१–० जग्गा पनि वडा कार्यालयलाई दिने किर्ते निर्णय गरेर वडा कार्यालयमा पेश गरेको निवर्तमान अध्यक्ष श्रीप्रसाद राजवंशीले बताए । आफूहरुको सहमतिबिना किर्ते निर्णय गरेका कारण संझौताका लागि नगएको र ठेक्का रकम पनि नलिएको राजवंशीले बताए ।

सझौताका लागि नआएपछि काम थाल्यौं–वडाध्यक्ष

शिवगञ्जमा कृषि बजारको डीपीआरका लागि कृषि मन्त्रालयले ३५ लाख रुपैयाँ छुट्याएको थियो । त्यसपछि दोस्रो चरणमा डेढ करोड रकम विनियोजन गरेको हो । ८ कठ्ठा १० धुर जग्गा अपुग हुने कुरा मन्त्रालयले बताएपछि मन्दिर समितिको साधारणसभाबाट थप १ विगाह १ कठ्ठा जग्गा लिजमा दिने निर्णय गराएर त्यसकै आधारमा मन्त्रालयले सो बजेट छुट्याएको वडाध्यक्ष खुलालले बताए । उनले ८ कठ्ठा १० धुरको ३१ हजार र थप १ विगाह १ कठ्ठाको ९५ हजार वार्षिक ठेक्का रकम वडा कार्यालयले छुट्याइसकेको जानकारी दिए । ८ कठ्ठा १० धुरमा कृषि बजार निर्माण भएको छ भने १ विगाह १ कठ्ठामा अक्सन सेन्टर बन्दैछ । मन्त्रालयले छुट्याएको डेढ करोडमध्ये कृषि बजारका लागि १ करोड ५ लाखमा ठेक्का लागेर अरु रकम उब्रिने भएपछि अक्सन सेन्टर हतारमा बनाउनु परेको उनले बताए । आफूहरुले संझौताका लागि पटकपटक मन्दिर समितिलाई बोलाएपनि उनीहरु नआएको वडाध्यक्ष खुलालले जानकारी दिए । ‘ हामीले संझौताका लागि ३ पटक बोलाइसक्यौं ’उनले भने ,‘ तर उहाँहरु आउनु भएको छैन ।’ केही दिनअघि कुन्जी विहारी ताजपुरियाको अध्यक्षतामा मन्दिरको नयाँ कार्यसमिति चयन भएको छ । जुन समितिले बिना संझौता अर्काको जग्गामा निर्माण कार्य गर्ने वडा कार्यालयलाई निर्माण रोक्न फेरि पनि आग्रह गरिसकेको छ ।

साधारणसभाले गरेको निर्णय

राजवंशीले दान दिएको जग्गामा मनपरी

गौरीशंकर बृजेश्वर महादेव शिवालय मन्दिरको स्थापना साविक पाँचगाछी ३ का डम्बरलाल राजवंशी वि. स. १९९७ मा निर्माण गरिदिएका थिए ।सो मन्दिरलाई राजवंशीहरुले जग्गा दान दिएका थिए । मन्दिरको नाममा कि. नं. १६८ को ज.वि. ७ कठ्ठा २ धुर , कि. नं १७३ को ज.वि. २ कठ्ठा , कि. नं. १८८ को ज.वि.२ कठ्ठा १५ धुर , कि. नं. १८९ को ज.वि. २ कठ्ठा ७ धुर , कि. नं. ५९१ को १ विगाह १ कठ्ठा , कि. नं. ५९२ को ८ कठ्ठा १० धुर, कि. नं २३३ को ज.वि. ४ कठ्ठा १० धुर , कि. नं. २३४ को ज.वि. ४ कठ्ठा १० धुर , कि. नं. २३८ को १८ कठ्ठा, कि. नं. २४६ को १० कठ्ठा, कि. नं ७९७ को ज.वि. ५ कठ्ठा १० धुर ,कि.नं. ७९८ को ज.वि.१ विगाह , कि. नं. ८१९ को ज.वि. १० धुर र कि.नं. ८२० को ज.वि. २ विगाह १० कठ्ठा गरी ७ विगाह १६ कठ्ठा १४ धुर जग्गा स्रेस्तामा देखिन्छ ।तर , ती जग्गामाथि अहिले आफूखुशी गर्न थालिएको छ । वडा कार्यालयसंगै नेपाल टेलिकमले पनि बिना संझौता चार कठ्ठा जग्गामा संरचना निर्माण गरेको छ । विगतमा झापाका आदिवासी समुदायले मठमन्दिर , स्कूललाई दान दिएको जग्गा धेरै ठाउँमा मास्ने र बेचिखाने काम भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्