झापा , असार १४ । झापा कारागारभित्र उपद्रो गर्ने रिता राईलाई चौकीदारको जिम्मेवारीबाट हटाइने भएको छ ।

महिला कारागार तास र रक्सीको अखडा बनेको एक महिला कैदीले खुलासा गरेपछि त्यसको छानबिन गर्न समिति गठन भएको थियो । छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा राईलाई चौकीदारबाट हटाइने भएको हो ।उनलाई आगामी साउन महिनादेखि सो जिम्मेवारीबाट हटाइने कारागार प्रमुख सुरेन्द्र थापाले बताए । ‘आगामी साउनदेखि उनलाई चौकीदारबाट हटाइने छ ’ कारागार प्रमुख थापाले भने,‘कैदी बन्दीबाट आउने प्रस्तावको आधारमा नयाँ चौकीदार नियुक्त गर्नेछौं ।’

महिला कारागारभित्र चौकीदार राईले रक्सी , खैनी , सूर्ती , चुरोट ,हुक्का बिक्री गर्ने गरेको र पैसा लिएर तास खेलाउने गरेको कुरा बाहिर आएको थियो । महिला कारागारभित्र अब महिला प्रहरी पठाएर त्यसबारे अनुगमन गरिने थापाले बताए । कारागारभित्र आन्तरिक प्रशासन भएपनि अब कारागार प्रशासनले अनुगमन गर्ने उनको भनाई छ ।

कारागारभित्रको वस्तुस्थिति महिला कैदी उर्मिला पन्धाकले पत्रमार्फत सार्वजनिक गरेकी हुन् । सो पत्र कारागारबाट रिहा भएकी अर्की महिला कैदी साजन खत्रीले प्रतिदिन दैनिकलाई दिएकी थिइन् । महिला कारागारभित्र दुईवटा गुट देखिएको भन्दै कारागार प्रमुख थापाले चौकीदार राई र पत्र लेख्ने पन्धाकलाई अबदेखि गुटबन्दी नगर्ने शर्तमा मेलमिलाप गराएको जानकारी दिए ।

महिला कारागारभित्रको बेथितिका बारेमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । जसको सदस्यहरुमा जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठक र राष्ट्रिय अनुसन्धान कार्यालयका डिएसपी दुर्गा चापागाई रहेका थिए । समितिले केही दिनअघि प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानले बताए । छानबिनका क्रममा कारागारभित्र त्यत्रो ठूलो कैफियत नभेटिएको र कारागारका विषयमा आएका गुनासाका बारेमा कारागार प्रशासनको ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

यसअघि कारागार सुरक्षार्थ खटिएका सई कुमार खड्कालाई जिल्ला प्रहरी कार्यालय तानेर उनको ठाउँमा वरिष्ठ सई कुमार ढकाललाई खटाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्