झापा , असार १४ । भारी बर्षाका कारण झापाका विभिन्न खोलामा आएको बाढीले डुबान र कटान गर्दा व्यापक क्षति भएको छ ।

जिल्लाका २७७ घरपरिवार प्रभावित भएका छन् । बाढीबाट दर्जनौं परिवार विस्थापित समेत बनेका छन् । जिल्ला प्रहरी कार्यालयले संकलन गरेको तथ्यांक अनुसार कमल गाउँपालिका वडा नं.२ भालुगाउँ बस्ने ४१ वर्षिय रामबहादुर.भण्डारीको बाँसको टाटीबेरा भएको एकतले घरमा पैनीको पानी ओभरफ्लो भएर पसेपछि ४ जनाको परिवार विस्थापित बनेको छ । विस्थापितलाई हाल छिमेकीको घरमा सारिएको छ ।

त्यस्तै कमल .२ क्याम्पा बजार बस्ने ४३ वर्षिया नारायणी नेपालको टिनको छाना इटाको पर्खाल भएको भुइँघरमा खेतको पानी घरमा पसेपछि ३ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । दमक नगरपालिका.वडा नं.६ जेसिस चौक बस्ने अभिनारायण खनालको किराना पसलमा पानी भित्र पस्दा चिनी३ बोरा, चामल–८ बोरा,मैदा२ बोरा र चाउचाउ भुजा भिजेको छ । पसलमा भएका सामान अन्यत्र कोठामा सारिएको छ भने दमक ७ स्थित सिताराम साहको किराना पसलमा नालीको पानी पस्दा बिभिन्न खुद्रा सामानहरु दाल, चामल, मकै,जौ,खुर्सानी आदि भिजेर क्षति भएको छ ।
त्यस्तै गौरादह नगरपालिका वडा नं .४ र ५ का विभिन्न स्थानमा गरी २२ घरमा डुवान भएको छ । अन्दाजी. २ फिट पानी जमेपनि मानिसहरु आफ्नै घरमा बसिरहेको प्रहरी चौकी महारानीझोडाले जनाएको छ ।


वर्षाका कारण रतुवा खोलाको पानी ओभरफ्लो भई बस्तीमा पस्दा गौरादह ६ स्थित टंगुवा बस्तीका २५ घर डुबानमा परेका छन् । अन्दाजी .२ फिट पानी जमेपछि इलाका प्रहरी कार्यालय.गौरीगञ्जबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको टोली खटिएर स्थानीय पालिकासंग समन्वय गरी मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिका ११ स्थित ईप्रका झिलझिलेको कार्यालयमा पानी पसी कम्प्युटर शाखा, कार्य शाखा, कार्यालय.प्रमुखको कार्यालय, २ वटा कम्प्युटरमा क्षति पुगेको छ ।
त्यस्तै शिवसताक्षी ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, शिवगञ्ज स्वास्थ्य चौकी भवन र औषधि पसलमा क्षति पुगेको छ । त्यहाँ अन्दाजी ३ फिट पानी जमेको छ ।सोही ठाउँका जवरजंग दर्जी, मानबहादुर दर्जी ,संजय मल्लिकको घरमा मकल डुब्बा खोलाबाट आएको पानी पसी अन्दाजी . ३ फिट पानी जमेको प्रहरीले जनाएको छ ।

त्यस्तै गौरीगञ्ज गाउँपालिका.वडा नं.१ महाभारा बस्ने रणमाया लिम्बूको घरभित्र बनियानी खोलाको पानी पसी अन्दाजी. ४ फिट जमेपछि घर जोखिममा पुगेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ । गौरीगञ्ज १ बालुबारी माईखोलाको पानी ओभरफ्लो भई १५ घर, देवीगडामा ५ घर, टप्पु बस्तीका १२ घरमा ३ फिट पानी जमेर डुबान भएको छ । प्रहरी चौकी कुञ्जिबारीबाट प्रहरी सहायक निरीक्षकको टोली खटिगई स्थानीय निकायसंग समन्वय गरी बाढीपीडितहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भईरहेको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिका वडा नं ४ सुकुम्बासी सन्थाल बस्तीमा कमल–बनियानी खोलाको पानी ओभरफ्लो भई पस्दा सो बस्तीमा रहेको ३० घर विस्थापित भएका छन् । घरमा अन्दाजी ४ फिट पानी पसी डुबान भएको हो । सो बस्तीमा बसोबास गर्नेहरुलाई नजिकै रहेको त्रिभुवन माविमा सुरक्षित राखिएको ईप्रका.शिवगञ्जले जनाएको छ । त्यस्तै अबिरल बर्षाका कारण बाह्रदशी गाउँपालिका २ स्थित भूतेनी खोलाको पानी ओभरफ्लो भई सोही ठाउँ बस्ने ४ घर विस्थापित भएका छन् । घरमा पानी पस्न सक्ने जोखिम भएकाले ईप्रका.राजगढबाट प्रहरी टोली खटिएर स्थानीयसंग समन्वय गरी नजिकै रहेको सुन्दरपुर प्राविमा घरको सामान सार्ने कार्य भईरहेको छ ।
त्यस्तै लगातार परेको पानीका कारण बिर्तामोड नगरपालिका वडा नं.२ चैतुबारीस्थित घाग्रा खोलाको पानीले कन्काई र अम्बे प्लाई फ्याक्ट्री छेउबाट कटान गरी बस्तीतर्फ पानी पसेको छ । ईप्रका घैलाडुब्बाबाट प्रहरी टोली र स्थानीयबासीको सहकार्यमा बाँसको प्रयोग गरी बाँध बाँध्ने कार्य भईरहेको छ ।

त्यस्तै अबिरल बर्षाका कारण बाह्रदशी २ स्थित सुकुम्बासी बस्तीमा अधुवा खोलामा आएको बाढी पसेको छ । त्यहाँ रहेका करिव ६० घरमा पानी पसेपछि ईप्रका.राजगढबाट प्रहरी टोली खटिगई दक्षिणेश्वर मन्दिरमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी झापा गाउँपालिका वडा नं.६ बालुबथानस्थित तिरिङ खोलाको बाँध फुटेको छ । प्रहरी चौकी शरणामतीबाट प्रहरी टोली , बिओपी टाघनडुब्बाबाट सशस्त्र .प्रहरी निरीक्षकको टोलीले स्थानीयको सहयोगमा बोरामा बालुवा हाली बाँध बाँध्ने कार्य भईरहेको जनाइएको छ ।
त्यस्तै कचनकवल गाउँपालिका वडा नं.१ पिण्डलबारीस्थित बिरिङ खोलामा आएको बाढीका कारण नेपाल भारत सीमा स्तम्भ ( पिलर न. २८, २९ ) डुबान भई नदेखिने भएको छ । त्यस्तै अबिरल बर्षाका कारण गौरीगञ्ज वडा नं. २ भाकुरमारीस्थित माइखोलाको छेउमा टहरा बनाई खेती गर्न बसेका ७ घर विस्थापित बनेका छन् । माइखोलाको बाढी पसेपछि उनीहरुलाई नेपाल भारत सिमाना दशगजामा सुरक्षित स्थानमा सारिएको र खाली चौरमा पाल टाँगी बसेको प्रहरी चौकी कोरोबारीले जनाएको छ ।

त्यस्तै अबिरल बर्षाका कारण गौरीगञ्ज ४ सुकुम्बासी बस्तीमा कृष्ण खोलाको बाढी पस्दा १५ घर विस्थापित भएका छन् । डेढ फिट जति पानी जमेपछि इप्रका खजुरगाछीबाट प्रहरी टोली खटिएर राष्ट्रिय प्रावि अल्तावारीमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै शिवसताक्षी ४ बस्ने हरिदेव ताजपुरियाको कुखुराको फारमनजिकै पैनीको पानी पसी १२०० बोईलर कुखुरा मरेको छ । कुखुराको दानासहित करिव १० लाख ४० हजार बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै बाह्रदशी २ स्थित गैरीगाउँमा अधुवा खोलामा आएको बाढीले ७ घर विस्थापित भएका छन् । २ फिट जति पानी पसी ७ परिवारका ३३ जना बिस्थापितहरुलाई स्थानीयको सहयोगमा आफन्तकोमा सार्ने कार्य भइरहेको ईप्रका राजगढले जनाएको छ । त्यस्तै महारानीझोडा क्षेत्रमा करिव २० घरमा खेतमा जमेको पानी पसेको छ ।
त्यस्तै कमल १ सोलमारी बस्ने हरि खड्काको बाँसको टाटी, टिनको छानो भएको घरमा खेतमा जम्मा भएको पानी पस्दा खड्का परिवार विस्थापित बनेको छ । . धान, चामल भिजेको र चारजनाको परिवार तत्काल छिमेकीको घरमा गई बसेको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्