झापा , असार १६ । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने गरी मिति तोक्न लागेको बेला उम्मेदवारका लागि आकांक्षीहरु देखिन थालेका छन् ।

ठूला राजनीतिक दलसंगै स्वतन्त्र उम्मेदवारी दिन चाहने समेतले आकांक्षा व्यक्त गर्न थालेका हुन् । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरपालिकामा बालेन साह र सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङले स्वतन्त्र रुपमा ठूला दललाई पन्छाउँदै जितेपछि आगामी प्रदेश र संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको होड नै चलेको छ ।

काठमाडौंसंगै झापामा पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहनेहरु खुल्न थालेका छन् । स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका शेरबहादुर थापाले आगामी संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरुको सहजीकरण गरिरहेका छन् । आफूहरुले गठन गरेको स्वतन्त्र अभियानको टोलीले पहल गरिरहेको थापाले बताए । ‘केही दिनअघि इटहरीमा स्वतन्त्र अभियानको बैठक सम्पन्न भएको छ ’ उनले भने ,‘ अभियानको टोली आएपछि झापामा स्वतन्त्र उम्मेदवार घोषणा गरिनेछ ।’

झापाको पाँच वटा निर्वाचन क्षेत्र र १० वटा प्रदेश क्षेत्रमध्ये सबैमा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको उनले बताए । झापा क्षेत्र नं ४ को प्रदेश‘क’ बाट हेमराज बिमली र क्षेत्र नं ४को प्रदेश‘ख’बाट भक्ति सिटौलाको स्वतन्त्र उम्मेदवारी रहने थापाले जानकारी दिए । राजनीतिक पार्टीका तर्फबाट टिकट नपाउने असन्तुष्टहरुलाई स्वतन्त्र उम्मेदवारको रुपमा खडा गर्ने रणनीति बनाएको उनको भनाई छ ।

एमालेमा पुरानै अनुहार दोहोरिँदै
स्थानीय तहको निर्वाचनमा नेपाली जनताले राजनीतिक नेतृत्वमा परिवर्तन खोजेका छन् । त्यही भएर ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेलाई नेतृत्व परिवर्तन गर्न दवाव छ । तर, ती पुराना पार्टीहरु त्यति सजिलै परिवर्तन गर्न चाहदैनन् ।

जनताले पपुलर र नयाँ अनुहार खोजेकाले संघीय र प्रदेश निर्वाचनमा केही नयाँ अनुहार पर्न सक्ने एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले बताए । ‘स्थानीय तहको निर्वाचनमा जे जस्तो भएपनि संघीय र प्रदेशको निर्वाचनमा नयाँ र पुरानोको संयोजन हुन्छ ’उनले भने ।

संघीय निर्वाचनमा पुरानै अनुहारहरु दोहोरिने भएका छन् । क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी ओली , १ मा रविन कोइराला ,४ मा एलपी साँवा उठ्ने लगभग पक्का भइसकेको छ । त्यस्तै क्षेत्र नं ३ बाट केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई उठाउने तयारी पार्टीले गरिरहेको पार्टी स्रोतले छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई टक्कर दिनका लागि ‘हेभिवेट’ उम्मेदवारको रुपमा प्रसाईलाई उठाइने स्रोतको भनाई छ । प्रसाईसंगै जीवनकुमार श्रेष्ठ , बसन्त बानियाको नाम पनि उम्मेदवारको रुपमा चर्चामा छ ।

त्यस्तै क्षेत्र नं. २ मा अग्नीप्रसाद खरेल , प्रेम गिरी ,एकराज कार्कीमध्ये एकजनालाई टिकट दिने संभावना रहेको छ । क्षेत्र नं. २ बाटै देवराज घिमिरे ,चिन्तन पाठक पनि संघीय निर्वाचनको उम्मेदवारका लागि आकांक्षी रहेको बुझिएको छ । संघीय निर्वाचनमा उठ्न चाहने आकांक्षीहरुलाई प्रदेशसभा निर्वाचनको उम्मेदवारमा व्यवस्थापन गरिने पार्टीले सोच बनाएको छ ।

कांग्रेस ‘पर्ख र हेर’को अबस्थामा
स्थानीय तहको निर्वाचनमा माओवादीसंग गठबन्धन गरेको नेपाली कांग्रेस ‘पर्ख र हेर’को अबस्थामा रहेको छ । नयाँ अनुहारलाई ठाउँ दिनुपर्ने दवाव रहेको कांग्रेसमा पनि पुरानै अनुहारहरुले आकांक्षा व्यक्त गरिरहेका छन् ।

पूर्वमन्त्री कृष्णप्रसाद सिटौला , महामन्त्री विश्वप्रकाश शर्मा , प्रदेश सभापति उद्धव थापा , जिल्ला सभापति देउकुमार थेबे,पूर्वमन्त्री केशवकुमार बुढाथोकीजस्ता अनुहार नै दोहोरिने संभावना देखिएको छ । स्थानीय तहको निर्वाचनको परिणामका कारण कांग्रेसका उम्मेदवारहरु सोचविचार गरेर मात्र उठ्ने मनस्थितिमा देखिएका छन् । संघीय र प्रदेशको निर्वाचनका लागि अहिले नै आकांक्षीहरु प्रकट भइनसकेको बताउँदै जिल्ला सभापति थेबेले कांग्रेसले अरु पार्टीभन्दा पछि नै उम्मेदवारको टुंगो लगाउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्