बिर्तामोड , असार १६ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय विज्ञान तथा गणित प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिहीबार आयोजना गरिएको नगरस्तरीय बौद्धिक प्रतिभा प्रदर्शनीमा मोहनमाया माध्यमिक विद्यालय प्रथम भएको हो । प्रतियोगितामा वाल्मीकि फाउण्डेसन द्वितीय,तक्षशिला फाउण्डेसन तृतीय र कन्काई आधारभूत माध्यमिक विद्यालय सान्त्वना भएका छन् । विजेता विद्यालयहरुले क्रमशः १० हजार,८ हजार,६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै नगरपालिकाले आयोजना गरेको अन्तरविद्यालय कविता प्रतियोगितामा वीर अमरसिंह माध्यमिक विद्यालयका प्रकाश निरौला प्रथम भएका छन् । यस्तै एभरेष्ट स्मार्ट एकाडेमी फाउण्डेसनका जस्मिन कडरिया द्वितीय,बालकल्याण आधारभूत विद्यालयका स्वस्तिका उप्रेती तृतीय र इडन गार्डेन एकाडेमी फाउण्डेसनका ईश्वर उप्रेती सान्त्वना बनेका छन् । विजेताहरुले क्रमश ५ हजार,४ हजार,३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै बौद्धिक प्रतिभा पहिचान कार्यक्रमअन्तर्गतको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा सेन्ट जेभियर्स स्कुलकी स्मरण लिवाङ प्रथम भएकी छन् । प्रतियोगितामा न्युटन्स एजुकेशन एकाडेमीकी साल्भी सिवाकोटी द्वितीय,क्रिएटिभ इङ्लिस एकाडेमीकी फिजा अन्सारी तृतीय र मोहनमाया माध्यमिक विद्यालयका राज मल्लिक सान्त्वना भएका छन् । विजेता विद्यार्थीहरुले क्रमश ५ हजार,४ हजार,३ हजार र १ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा विजेताहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पुरस्कार प्रदान गरे । देवी माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच विजेता सबैलाई पुरस्कार प्रदान गरिएको थियो । देवी माध्यमिक विद्यालयमा बिहीबार विज्ञान तथा गणित प्रदर्शनी र न्युटन्स एजुकेशन एकाडेमीमा गत असार १३ गते कविता तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको हो । विज्ञान तथा गणित प्रदर्शनीको नगरप्रमुख प्रसाई,उपप्रमुख संग्रौला, वडा नम्बर ५का वडाध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य यमुना आचार्य, शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले अवलोकन गरेका थिए । प्रतियोगितात्मक कार्यक्रममा नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ३७ वटा विद्यालयले सहभागिता जनाएका थिए । वार्षिक शैक्षिक क्यालेण्डर अनुसार कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्