झापा,असार १७ । करिव दुई वर्षअघि झापाको बुद्धशान्ति –५ स्थित पाँचपोखरी जंगलमा एउटा जंगली हात्ती मृत भेटियो । सोही वडामा शुक्रबार फेरि त्यसरी नै मरेको हात्ती फेला परेको छ ।

बुद्धशान्ति –५ स्थित आयाबारीमा स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण खुलिसकेको छैन ।

यसअघि २०७७ असोजको तेस्रो साता उपचार गरी छोडिएको जंगली हात्ती दुई सातापछि कात्तिक ५ मा बुद्धशान्ति ५ स्थित पाँचपोखरी जंगलमा मृत फेला परेको थियो । हात्तीको दारा र पुच्छर थिएन । आँखा नदेख्ने अवस्थाको उक्त हात्तीलाई असोज २१ गते पशु चिकित्सकले उपचार गरी जंगलमा छोडेका थिए ।तर, बचाउन सकेनन् । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा झापामा चारवटा हात्ती मारिएका छन् । २०६२ देखि हालसम्म झापामा १४ वटा हात्ती मारिएको सो कार्यालयले जनाएको छ ।

अधिकांश हात्ती घाउ चोटकै कारण मरेको पाइएको छ । हात्ती नियन्त्रणका लागि राखिएको सोलार फेन्सिङमा परेर र कतिपय मानिसको आक्रमणमा परी मारिएका छन् । मारिनेमा साना छावादेखि लिएर २० वर्षसम्मका वयस्कसम्म छन् ।

नेपालमा करिब पाँच दशकदेखि हात्ती र मानिसबीचको द्वन्द्व जारी छ । द्वन्द्वको कारण हात्तीको आवागमन मार्ग र वासस्थानमा अतिक्रमण नै हो । पछिल्लोसहित २०६२ देखि हालसम्म १४ वटा हात्ती मृत फेला परेको डिभिजन वन कार्यालयका डिल्लीराम खरेलले बताए । घाउ चोट लागेर , नांगो फेन्सिङ तारमा परेर अधिकांश हात्ती मारिएको उनले बताए । त्योसंगै झापामा चोरी शिकारीको घटना पनि हुने गरेको छ । मृत फेला परेका हात्तीको दाह्रा , पुच्छर नरहनुले चोरी शिकारीकै लागि मारिएको घटना पुष्टि भएको छ ।

हात्ती र मानिसबीचको द्वन्द्वका कारण हात्तीबाट धेरै जनधनको क्षति भएको छ । झापामा हालसम्म ४७ नागरिक र ५ गैरनागरिक गरी ५२ जना मारिएका छन् । २०६७ देखि २०७८ माघसम्म ५२ जनाले ज्यान गुमाएको खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्