झापा , असार १८ । झापाली साहित्यकार उमानाथ दाहालको तीनवटा कृति शनिवार एकैपटक विमोचन भएको छ ।

शिवसताक्षी नगरपालिका ९ दुधे निवासी दाहालको वाल गीति कविता संग्रह ‘बाल संसार’ राष्ट्रिय गीत संग्रह ‘हाम्रो टोपी’ र कविता संग्रह ‘स्वानुभूति’को विमोचन भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा. देवी नेपालले सतासीधाम साहित्य संगमले आयोजना गरेको कार्यक्रममा साहित्यकार दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका हुन् । यसअघि दाहालको कथा संग्रह ‘दश कथा’ बजारमा आएको थियो । शिक्षण पेशाबाट सेवा निवृत दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन् । सेवाबाट निवृत भएपछि बचेको समय साहित्य सृजना र समाजसेवामा लगाउँदै आएका दाहालले एकैपटक तीनवटा कृति बजारमा ल्याएपछि झापाली साहित्य सर्जक खुशी देखिएका छन् ।

राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको हल झापाली साहित्य क्षेत्रका मुर्धन्य व्यक्तिको सहभागिताले भरिएको थियो । एक दशकको अवधिमा शिवसताक्षी नगरमा साहित्य क्षेत्रका गतिला कार्यक्रम हुन सकेका थिएनन् । लेखक पदम दाहालले भने, ‘कवि दाहालका कृतिले यो क्षेत्रको साहित्य गतिविधिको खडेरीलाई पुनर्जागृत गरेको छ ।’ कवि दाहालले बजारमा ल्याएका तीनवटै संग्रह विद्यालयका बालबालिकाका लागि अधिक उपयोगी हुने दाहालले बताए ।
दाहालको बाल गीति कविता संग्रहमा ९१ वटा कविता छन् । सबै कविता बाल लयमा गाउन सकिने लेखकले बताए । गीति कविता संग्रहमा कवि दाहालले आफ्नै भूगोलका धार्मिक तथा पर्यटकीय क्षेत्र, मठ मन्दिर, विद्यालय, बजार र बालबालिकाले दिनहुँ प्रयोग गर्ने वस्तुलाई प्राथमिकता दिएर समेटेका छन् ।

यस्तै स्वानुभूति कविता संग्रहमा पचासवटा कविता समेटिएका छन् । उक्त संग्रहका समीक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूतिभित्रका कविताले लामो समयदेखिको कविताको प्यास मेट्न सक्ने बताए । उनले भने, ‘आफ््नै परिवेश र जीवनसंग मिलेका कतिपय व्यवहारलाई कवि दाहालले कर्णप्रिय शव्द संयोजन गरेर कवितामा उतार्नु भएको छ ।’
स्वानुभूति कविता संग्रहमा मानिसभित्र हुने विचार र मनका भावनाहरु शव्दचित्रका रुपमा समेटिएका छन् । बरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेल भन्छन् ‘स्वानुभूतिमा कविले व्यक्त गरेका भावनाहरु सरल र सरसका साथै सामान्य पाठकले पनि सजिलै बुझ्न सक्छन् ।’
पोखरेलका अनुसार कविताहरुको भाव पक्ष काव्यको आत्मा हो भने छन्द, लय, अलङकार जस्ता कुराहरु यसका शारीरिक अवयव हुन् । यसमा प्रायः एक पृष्ठका कविता भएको हुनाले त्यसलाई पढी सिध्याउन पाठकले आङ तानिरहनु पर्देन । यो पनि कवि दाहालले सृजना गरेको स्वानुभूतिको विशेषता हो ।

संगीतकार रामचन्द्र अन्जानले कवि दाहालले लामो समयसम्म बालबालिकासंग व्यतीत गरेका कारण वाल गीति कविता संग्रह प्रकाशन गरेर साहित्य क्षेत्रमा एक नक्षत्रका रुपमा स्थापित भएको बताए । उनले भने, जीवनको लामो समय बालबालिकासंग विताएकोले उनका गीतहरु बालबालिका जस्तै निर्दोष र चञ्चले छन् ।
कार्यक्रम सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालको अध्यक्षता, उपाध्यक्ष पदमप्रसाद दाहालको स्वागत र सचिव यादव घिमिरेको संचालनमा भएको थियो । कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीति संग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत संग्रहको नेपालको माटो गाएका थिए । यस्तै सर्जकले कविता, गजल सुनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्