झापा , असार १९ । धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर वायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ ।

फोहोर प्रशोधन गरेर उत्पादित वायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो । धरानमा सर्वसाधारणले फालेको फोहोर सङ्कलन गरी फोहोरबाट अर्गानिक, रिसाइकल हुने र ल्यान्डफिल्डमा फाल्नुपर्ने गरी छुट्याएर अर्गानिक फोहोर प्रशोधन गरेर वायो ग्यास र जैविक मल उत्पादन गरिएको छ । २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेस्ट टु इर्नजी प्रा.ली.बीच त्रिपक्षीय सम्झौताअनुसार भेन्चर वेस्ट टु इर्नजी प्रा.लि.ले अहिले वायो ग्यास उत्पादन गरिरहेको छ । करिब २४ करोडको लगानीमा २२ कट्ठा जग्गामा यो कम्पनी निर्माण गरिएको छ । त्यस प्लान्टबाट डेढ सयवटा अटो सञ्चालन गर्न पुग्ने ग्यास उत्पादन हुने कम्पनीका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार फोहोरबाट रिसाइकल (प्रशोधन) हुने फोहोर कवाडीलाई बिक्री गरिने र दैनिक १२ देखि १५ सय केजी ग्यास उत्पादन भइरहेको छ भने प्लान्टको दैनिक ५० टन फोहोर प्रशोधन गर्नसक्ने क्षमता रहेको इन्जिनियर अग्रवालले बताए ।

धरानमा दैनिक २२ टनभन्दा बढी कुहिने फोहोर जम्मा हुन्छ भने नकुहिने फोहोर १५ देखि २० टनसम्म जम्मा हुने धरान उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख भेषराज घिमिरेले बताए । कम्पनीले कुहिने फोहोरबाट वायो ग्यास र नकुहिने फोहोरलाई रिसाइकल गरिरहेको वातावरण शाखाका प्रमुख घिमिरेले जानकारी दिए । यसरी ग्यासबाट उत्पादन गरी सवारी सञ्चालन गर्दा वातावरण पनि राम्रो हुने उनको भनाइ छ । जम्मा फोहोरको ६० देखि ६५ प्रतिशत मल बनाउन सकिन्छ भने १७ देखि २० प्रतिशत पुनः प्रयोग र प्रशोधन योग्य हुन्छ । २० प्रतिशतको हाराहारीमा सिसाजन्य जसलाई स्यानेटरी ल्यान्ड फिल्डमा व्यवस्थापन गर्न सकिने इन्जिनियर अग्रवालको भनाइ छ । गत वर्ष २०७८ पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सो प्लान्टको उद्घाटन गरिएको थियो । धरानले फोहोर प्रशोधन केन्द्रको सञ्चालनमा ल्याएर आम्दानीको स्रोत बढाउनुका साथै फोहोरको दीर्घकालीन व्यवस्थापनको अभ्यास भने उदाहरणीय नै बनेको छ । फोहोरको व्यवस्थापन गर्न धरान उपमहानगरले इर्नजी प्रा.लि.सँग २० वर्षे सम्झौता गरिसकेको छ । सम्झौतामा अनुसार प्रा.लि.ले २० वर्षपछि प्रशोधन केन्द्रको जग्गासहित हस्तान्तरण गरी आम्दानीको एक प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने छ । फोहोर व्यवस्थापनका लागि प्रतिकेजी एक रुपियाँ एक पैसा खर्च हुन्छ । यसरी हेर्दा धरान उपमहानगरपालिका एक्लैले चार करोडको हाराहारीमा फोहोर व्यवस्थापनमा खर्च गर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्