बरतलाल राजवंशी,
कुमरखोद ।कृषि ज्ञान केन्द्रले अनुदान सहयोगमा झापा गाउँपालिकाका सहकारी संस्थालाई दिएको दुईवटा ड्रायर मेशिन दक्ष प्राविधिक नहुँदा बिग्रिएर थन्किएको छ ।


झापा गाउँपालिकाका दुईवटा सहकारी संस्थाले गत वर्ष दुईवटा ड्रायर मेशिन ल्याएका थिए । किसानले लगाएको धान , मकै र गहुँ सुकाउनको लागि ड्रायर मेशिन खरिद गरेर ल्याएता पनि दक्ष जनशक्तिको अभावमा चलाउन नसकेर थन्केको हो । त्यसबाट ल्याएको एक वर्षसम्म कुनै आम्दानी लिन सकेका छैनन्।

झापा गाउँपालिकाभित्र रहेका कुमरखोद साना किसान कृषि सहकारी र मारसाल कृषि सहकारी संस्थाले सँगै दुईवटा ड्रायर मेशिन ल्याएका थिए । कुमरखोद साना किसान सहकारी संस्थाले गत वर्ष एक कार्यक्रम गरी ड्रायर मेशिनको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहद्वारा उद्घाटन गर्न लगाएको थियो । अहिले उक्त मेशिन बिग्रेर थन्किएको छ भने अर्कोतिर मारसाल कृषि सहकारी संस्थाले उद्घाटन गर्न नपाई ड्रायर मेशिन बिग्रिएर थन्किएको छ ।

दुवै संस्थाले उक्त ड्रायर मेसिन किसानहरुको काममा सहयोग होस् भन्ने उद्धेश्यले खरिद गरेका थिए । तर, दक्ष प्राविधिक नहुँदा शिकारुको भरमा मेशिन चलाउँदा बारम्बार बिग्रिरहने भएपछि मेशिन चलाउन नसकिएको मारसाल कृषि सहकारी संस्थाकी व्यवस्थापक राप्ती राजवंशीले बताइन् । उनी भन्छिन्– ‘मेशिनको पार्टस् बिग्रियो भने नेपालमै पाइदैन, किन्नलाई भारतको हैदरावाद शहर जानुपर्छ । मेशिन बिग्रिएर बोलाउँदा पनि सप्लायर्स वि.आई. कम माईक्रो सिस्टम कैलाली टिकापुरका ईन्जिनियर पंकज विष्टले प्राविधिक नै पठाउँदैनन् ।’ त्यसैगरी अर्का साना किसान सहकारीका व्यवस्थापक रुपक राजवंशी भन्छन् ‘यो ड्रायर मेशिन अनसक्सेसफुल मेशिन हो , एउटा पार्टस् बनायो अर्को दिन अर्काे पार्टस् बिग्रिहाल्ने । बनाउनका लागि कैलालीबाट प्राविधिक बोलाउँदा खर्च पनि धेरै लाग्ने भएकोले ड्रायर मेशिन चलाउन सकिएको छैन ।’

झापा गाउँपालिका अध्यक्ष शाहको पहलमा आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्र्तगत कृषि ज्ञान केन्द्र भद्रपुरबाट ५० प्रतिशत अनुदानमा दुवै कृषि सहकारीले ड्रायर मेशिन प्राप्त गरेका थिए । उक्त ड्रायर मेशिनको बजार मूल्य १७ लाख ६५ हजार रुपैयाँ रहेको छ । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै कृषि सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो ।

त्यसैगरी एस.एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएको मारसाल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको मारसल कृषि सहकारी संस्थाका अध्यक्ष रघु टुडुले बताए ।

प्रतिघण्टा ८७. ५ मन मकै र धान,गहुँ पनि प्रतिघण्टा ६२.५ मन सुकाउने क्षमता रहेको ड्रायर मेशिन सप्लायर्सका ईन्जिनियर प्रकाश विष्टले बताए । ईन्जिनियर विष्टका अनुसार धान , मकै र गहुँलाई ७० डिग्री तापक्रममा तताउने काम गर्छ । ड्रायर मेशिन संचालन गर्नको लागि प्रतिघण्टा १०देखि १२ लिटर डिजलको आवश्यकता पर्र्छ । उक्त ड्रायर मेशिनलाई विद्युतबाट पनि चलाउन सकिने विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्