झापा , असार २१ । पार्टीका उम्मेदवारमाथि अन्तर्घात भएर निर्वाचनमा हार बेहोर्नुपरेको निश्कर्षसहित नेकपा एमाले भद्रपुर नगर कमिटीले त्यसबारे खोजविन गर्ने भएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको झन्डै दुई महिनापछि मंगलबार स्थानीय तहको निर्वाचन समीक्षा विस्तारित बैठक बसेको थियो । स्थानीय तहको निर्वाचनको वस्तुस्थितिलाई मूल्यांकन गरेर वडागत रुपमा तयार गरिएको रिपोर्टिङलाई आधार मानेर नगर कमिटीले त्यस्तो निश्कर्ष निकालेको हो । निर्वाचनमा कमीकमजोरी भएरै हार बेहोर्नु परेको निश्कर्ष समीक्षा बैठकले निकालेको नगर प्रमुखका पराजित उम्मेदवार असारु राजवंशीले बताए ।

जिल्ला कमिटीका उपसचिवसमेत रहेका राजवंशीले अन्तर्घातलगायतका कमीकमजोरी भएकै कारण आफूलगायतले पराजय बेहोर्नु परेको निश्कर्ष निकालिएको बताउँदै अन्तर्घात गर्नेहरुको खाजी गर्ने निर्णय भएको जानकारी दिए । प्रदेश कमिटी सदस्य यमबहादुर श्रेष्ठले पाँचदलीय गठबन्धनसंगको असहज भीडन्त र राजनीतिक पार्टीप्रतिको वितृष्णाका कारणले समेत निर्वाचनमा हार बेहोर्नुपरेको निश्कर्ष बैठकले निकालेको जानकारी दिए ।

नगर कमिटी अध्यक्ष ब्रम्हलाल ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य यमबहादुर श्रेष्ठ रहेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु माधव बिद्रोही ,शुभलक्ष्मी राई , घनश्याम अधिकारी , जिल्ला कमिटीका उपसचिवहरु चन्द्रा श्रेष्ठ , असारु राजवंशी , जिल्ला सदस्य पुरुषोत्तम अधिकारीलगायत नगर कमिटी र वडा कमिटीका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । अघिल्लो २०७४ को निर्वाचनमा एमालेले भद्रपुरमा नगर प्रमुख , उपप्रमुखसहित बहुमत जितेको थियो । तर , यस निर्वाचनमा एमालेको सो आधार इलाका भत्किएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल नगर प्रमुखमा निर्वाचित भएका छन्। उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै राप्रपाकी राधा कार्की निर्वाचित भएकी छिन्।
गठबन्धनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्दै कांग्रेसका पोखरेल निर्वाचित भएका हुन्। भद्रपुरमा कांग्रेसले नगर प्रमुख जितेर यसपल्ट इतिहास रचेको छ। पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन्।

राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपप्रमुखमा बाजी मारेको छ। कांग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै राप्रपाकी कार्की निर्वाचित भएकी हुन्। कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्