झापा , असार २३ । झापाको मेचीनगर नगरपालिकाका ४ जनामा नैरोबी फ्लाइ संक्रमणको लक्षण देखिएको छ ।

पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका हुन् । मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफूले त्यसबारे जानकारी पाएको र नगरमा खोजपड्तालको काम भइरहेको बताए ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि सम्भावित लक्षण भएका बिरामी भेटिएका छन् । भीमदत्त नगरपालिका १८ का तारादत्त जोशीले आफूलाई बुधबार रातिदेखि नैरोबी संक्रमणका लक्षणहरू देखिएको बताए । जोशीका अनुसार बुधबार राति कौसीमा बसिरहेको समयमा केही आएर नाडीमा बसेजस्तो लाग्यो, केहीबेरपछि सो वस्तु बसेको ठाउँमा चिसो महसुस भयो र तुरुन्तै पोल्न र थाल्यो ।
बिहीबार बिहानसम्म आफ्नो नाडीमा छाला डढेको र घाउ बढ्दै गएको जोशीले बताए । नगरभित्र आफूसँगै चार जनालाई नैरोबी फ्लाइको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको जोशीले बताए ।भीमदत्त नगरपालिकाकै प्रकाशदत्त भट्टले आफूलाई नैरोबीको फ्लाइका कारण घाँटीको पछाडिको छालामा एलर्जी भएको तथा घाउ भएको भन्दै सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले हालसम्म महाशाखामा नैरोबीको केस रिपोर्ट नभएको बताए । तर, विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाइको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण बढ्दै गएकाले नेपालमा पनि सो केस नहोला भन्न नसकिने उनले बताए ।
नैरोबी फ्लाइ कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो । यो किरा धेरै वर्षा हुने स्थानमा देखिँदै आएको छ ।
बाली विज्ञहरूको अनुसार यो किराले बाली उत्पादनमा सहयोग गर्ने किराहरूलाई आक्रमण गर्दछ । सो क्रममा कृषकहरूको छालामा बस्न पुग्ने र संक्रमण गराउँछ । भारतको सिक्किममा बिहीबारसम्म १ सयजना भन्दा बढीमा नैरोबी फ्लाइको संक्रमण देखिइसकेको भारतको स्वास्थ्य विभागको तथ्यांक छ ।
सिक्किमको मनिपाल इन्ष्टिच्युट अफ टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरूमध्ये एकजनालाई हातको छालामा गम्भीर संक्रमण भएपछि शल्यक्रिया गर्नु परेको थियो । अन्य विद्यार्थीको भने औषधिमार्फत् उपचार भइरहेको विभागले जनाएको छ ।
भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार नैरोबी किराले मानिसलाई नटोक्ने तर छालामा बसेको बेला त्यसलाई चलाएमा वा छोडेर जाने बेलामा विषाक्त एसिड छोडेर जान्छन्, यस्तो एसिडले छालामा जलन, एलर्जी, सुन्निनेलगायतका विभिन्न समस्या गराउँदछ ।
यदि नैरोबी फ्लाइ शरीरका कुनैपानि भागमा बस्न पुगेमा त्यसलाई नचलाउन तथा बसेको ठाउँमा तुरुन्तै साबुनपानीले धुन अधिकारीहरूले सुझाव दिएका छन् ।