बिर्तामोड , असार २५ । बिर्तामोड नगरपालिकाका दुई कर्मचारीमा नाइरोबी फ्लाइको संक्रमण देखिएको छ ।

नगरपालिकाका कर्मचारीहरु दिपेश गणेश र अशेष अधिकारीमा त्यसको संक्रमण देखा परेको हो । बिर्तामोड ४ निवासी गणेशको हातमा एक साताअघि संक्रमण देखा परेको हो । आफूलाई एक साताअघि हातमा किराले टोकेर घाउ बनाइदिएको उनले बताए ।

त्यस्तै बिर्तामोड ७ सिमसार टोल निवासी अशेष अधिकारीलाई पनि संक्रमण देखिएको छ । आफूलगायत आफ्नो टोलका पाँच परिवारमा संक्रमण देखिएको उनले बताए । आदर्श अधिकारी, सिद्धान्त अधिकारी , श्रीहरि अधिकारीलगायतको परिवारमा संक्रमण देखा परेको उनले जानकारी दिए ।

नाइरोबी फ्लाइका संक्रमित जिल्लाका विभिन्न ठाउँमा देखा परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।
बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का संक्रमित आए’, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालन स्वास्थ्य सहायक कलम निरौलाले भने, ‘एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको। बिहीबार मात्र १०० लाई औषधि दिएर पठाएँ।’

मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्य चौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए। उनका अनुसार हाल बालबच्चा र ज्येष्ठ नागरिकहरुमा सो समस्या बढी देखिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्