बिर्तामोड , असार २५ । प्रहरीले लामो समयपछि यौनधन्दा सञ्चालन गर्ने होटलहरूमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेन्डका विभिन्न होटलहरूमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिवार छापा मारेको हो ।
प्रहरीले अधुवा खोला नजिकको एभरेस्ट होटलबाट सात जना र सूर्योदय टोलस्थित एक घरबाट दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेकाहरू यौनधन्दामा संलग्न रहेको जनाइएको छ ।
पक्राउ पर्नेमध्ये एक जना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एक जना गरी दुई जनालाई अस्पताल पठाइएको डिएसपी रूगमबहादुर कुँवरले जानकारी दिए । बाँकी सात जनालाई म्याद थपका लागि झापा जिल्ला अदालत लगिने उनले बताए । पक्राउ पर्ने युवतीहरू २० देखि ३० वर्षका भएको र उनीहरू बिर्तामोड, भद्रपुर र हल्दीवारीका रहेको प्रहरीले जनाएको छ ।
राजमार्ग आसपासका होटलहरूमा खुलेआम यौनधन्दा सञ्चालन हुँदा समेत प्रहरी प्रशासन मौन बसेको थियो । स्थानीयको गुनासोपछि प्रहरी बल्ल एक्सनमा उत्रिएको स्थानीयको भनाई छ । यौनधन्दा सञ्चालन गर्ने साना होटेलमा प्रहरीले छापा मारेर काम देखाए पनि ठुला तथा नाम चलेका होटलहरूमा भने प्रहरीले अहिलेसम्म छापा मार्न नसकेको गुनासो पनि स्थानीयले गरेका छन् ।