झापा , असार २६ । झापाको शनिश्चरे-बिर्तामोड सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि फिदिमका कुमार खनालको मृत्यु भएको हो । मृतकको साथमा रहेको नागरिकतामा पाँचथर फिदिम नगरपालिका ५ का कुमार खनाल उल्लेख छ । अर्जुनधारा नगरपालिका ६ कप्तानबारी नजिकमा रहेको कल्भर्टमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा मोटरसाइकल चालक सडकमा घोप्टो परेको अवस्थामा भेटिएका थिए । कल्भर्टमुनि उनी सवार बा. ४२ प १२८ नम्बरको होण्डाको युनिकर्न मोटरसाइकल पल्टिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् । आज बिहान मर्निङ वाकमा निस्किएका मानिसहरुले सडकमा मृत शरीर र कल्भर्टमुनि मोटरसाइकल देखेर प्रहरीलाई खबर गरेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज प्रहरी नायव निरीक्षक रवि राईले बताए । उनका अनुसार खबर पाउनासाथ प्रहरी चौकी शनिश्चरेको टोली खटिँदा मृतकको गोजीमा फिदिम ५ घर भएका कुमार खनालको नागरिकता फेला परेको थियो । मृतक कुमार खनाल नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ । फिदिम घर भइ हाल झापाको बुद्धशान्ति २ मा बसोबास गर्दै आएका मृतकका दिदीले पहिचान गरेको पनि प्रहरीले जनाएको छ । ४-५ वर्षयता उनी जयपुरमा बसोबास गर्दै थिए ।

त्यस्तै, भद्रपुरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ ।

दुर्घटनामा परी कार चालक भद्रपुर नगरपालिका- ९ निवासी ४५ वर्षीय किरण मुर्मु गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार राति १० बजे भद्रपुर- ८ स्थित मेची बहुमुखी क्याम्पसको गेटमा ठोक्किँदा डब्लुबी ७४ आर ६५६९ नम्बरको कार दुर्घटना भएको थियो । कारमा मुर्मु एक्लै सवार थिए । उनको टाउको र खुट्टामा चोट लागेकोले उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले पठाएको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा रहेको र चालकले घुमाउरो बाटो कटाउन नसक्दा क्याम्पसको गेटमा गएर ठोक्किएको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन् । कारको ठक्करबाट क्याम्पसको गेटमा क्षति पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्