झापा, असार २८ । म्याङलुङ नगरपालिका-१ को निर्माणाधीन भ्यू टावरको निर्माण स्थानीयवासीले रोकेका छन् ।

योजना सञ्चालन गर्न आमभेला नबोलाई सुटुक्कै उपभोक्ता समिति गठन गरी काम सुरु गरेको भन्दै निर्माण रोकिएको हो। म्याङलुङ नगर प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले आफ्नो पार्टीको कार्यकर्तालाई आफ्नै घरमा बोलाई कोठे समिति गठन गरी योजना सम्झौता गरेको म्याङलुङ-२ का पदम लिम्बूले बताए। उनले भने, ‘हामीले पटक-पटक आमभेलाको माग गर्दासमेत मेयरबाट सुनुवाइ भएन।’ आ.व.२०७८/७९ मा भ्यू टावर निर्माणका लागि संघीय सरकारमार्फत ‘सूर्योदय अवलोकन क्षेत्र पर्यटन पूर्वाधार’ शीर्षकमा २६ लाख बजेट छुट्टिएपछि हर्षित भएका स्थानीयहरू अहिले निराश छन्। भ्यू टावर निर्माणका लागि उपभोक्ता समिति गठन गर्न स्थानीयवासीले नगरपालिकालाई आग्रह गर्दासमेत समिति गठनको प्रक्रिया अगाडि नबढेको स्थानीय विश्वप्रकाश लिम्बूले बताए। ‘समिति गठन हुन सक्दैन भने ठेक्का प्रक्रियामा जानसमेत आग्रह गरियो,’ उनले भने, ‘तर, मेयर ज्युले मान्नुभएन।’ आर्थिक वर्ष सकिन करिब केही दिन मात्रै बाँकी रहँदा नगर प्रमुख तुम्बाहाङफेको निर्देशनमा कोठे समिति बनेको र भ्यू टावर बनाउने बजेटलाई पर्खाल लगाउने कार्यको सम्झौता गरी काम सुरु गरेको देखेपछि स्थानीयवासीले काम रोकेको म्याङलुङ-१ का डिकेन्द्र तुम्बाहाङफेले बताए। ‘२६ लाखको काम १५ दिनमा पर्खाल लगाएर कसरी सकिन्छ,’ उनले भने, ‘उपभोक्ताको आमभेला नबोलाई समिति गठन गर्नु आफैंमा गलत हो। अझ टावर बनाउनुपर्ने रकमले पर्खाल लगाउनु झनै कानुन र मापदण्डविपरीत हो।’ योजना सम्झौता गरेको समितिको नाममा कुल बजेटको ३० प्रतिशत पेस्की रकमसमेत निकासा गरेको म्याङलुङ नगरपलिकाका लेखा सहायक प्रेमबहादुर तामाङले बताए नियमविपरीत र शीर्षकभन्दा फरक काम गरिएको भन्दै स्थानीयवासीले वडा कार्यालयमा उजुरी दिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनमा वडामा सञ्चालन हुने कुनै पनि योजना अगाडि बढाउन वडाध्यक्षको रहोवरमा आमभेला बोलाइ निर्माण समिति गठन गर्नुपर्ने उल्लेख छ। तर, समिति गठन गर्नेबारे आफूलाई केही जानकारी नआएको म्याङलुङ-१ का अध्यक्ष बुद्धिराज लिम्बूले बताए। ‘आमभेला नगरी समिति गर्न नमिल्ने प्रावधान छ,’ उनले भने। काम तत्काल रोक्न स्थानीयवासीको उजुरी आएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको वडाध्यक्ष लिम्बूले बताए। काम रोकिएको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख तुम्बाहाङफेले काममा अवरोध गर्नु दुर्भाग्य भएको बताए। ‘हाम्रै बन्धुबाट काम रोकियो,’ उनले भने, ‘अब कुनै हालतमा पनि भ्यू टावर बन्ने छैन।’ निर्माण रोकिएपछि भ्यू टावरका लागि छुट्टिएको बजेट फ्रिज हुने अवस्थामा छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्