कुमरखोद, असार २९ । प्राविधिक ज्ञानबिना खरिद गरेर सहकारी संस्थालाई अनुदान सहयोगमा दिएको ड्रायर मेशिन बिग्रिएर थन्किएपछि त्यसको जिम्मेवारी कृषि ज्ञान केन्द्र झापाले लिनुपर्ने भएको छ ।

कृषि ज्ञान केन्द्रले नै खरिद गरेर अनुदान सहयोगमा झापा गाउँपालिकाका सहकारी संस्थालाई दुईवटा ड्रायर मेशिन दिएको थियो । दक्ष प्राविधिक नहुँदा ती दुवै मेशिन बिग्रिएर थन्किएको हो । झापा गाउँपालिकाभित्र रहेका कुमरखोद साना किसान कृषि सहकारी र मारसाल कृषि सहकारी संस्थाले गत वर्ष सँगै दुईवटा ड्रायर मेशिन ल्याएका थिए । किसानले लगाएको धान , मकै र गहुँ सुकाउनको लागि ड्रायर मेशिन खरिद गरेर ल्याएता पनि दक्ष जनशक्तिको अभावमा चलाउन नसकेर थन्केको हो । त्यसबाट सहकारीहरुले एक वर्षसम्म कुनै आम्दानी लिन सकेका छैनन्। आफूहरुले पचास प्रतिशत अनुदान सहयोगमा दिएको दुईवटै ड्रायर मेशिन बिग्रिएर थन्किएको जानकारी पाएपछि त्यसप्रति ध्यानाकर्षण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । ‘हामी त्यसबारे साउनको पहिलो साता सबै पक्षलाई राखेर छलफल गर्छौ ’उनले भने,‘मेशिन बिक्री गर्ने कम्पनीलाई पनि चिठीपत्र काटेर बोलाउँछौं । ’

दुवै संस्थाको ड्रायर मेशिन उपयोग नहुँदा कृषि ज्ञान केन्द्रको १७ लाख ५० हजार र सहकारी संस्थाको पनि १७ लाख ५० हजार रकम खेर जाने भएको छ । झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको पहलमा आर्थिक वर्ष २०७७–०७८ मा मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र भद्रपुरबाट ५० प्रतिशत अनुदानमा दुवै कृषि सहकारीले ड्रायर मेशिन प्राप्त गरेका थिए । उक्त ड्रायर मेशिनको बजार मूल्य १७ लाख ६५ हजार रुपैयाँ रहेको छ । झापा गाउँपालिकाले मेशिन खरिदका लागि दुवै कृषि सहकारीलाई २ लाखका दरले सहयोग गरेको थियो । त्यसैगरी एस.एन जेडी संस्था बिर्तामोडले आर्थिक अवस्था कमजोर भएको मारसाल कृषि सहकारी संस्थालाई मेशिन खरिदका लागि १ लाख ९० हजार रुपैयाँ सहयोग गरेको मारसल कृषि सहकारी संस्थाका अध्यक्ष रघु टुडुले बताए ।

दुवै संस्थाले उक्त ड्रायर मेसिन किसानहरुको काममा सहयोग होस् भन्ने उद्धेश्यले खरिद गरेका थिए । तर, दक्ष प्राविधिक नहुँदा शिकारुको भरमा मेशिन चलाउँदा बारम्बार बिग्रिरहने भएपछि मेशिन चलाउन नसकिएको मारसाल कृषि सहकारी संस्थाकी व्यवस्थापक राप्ती राजवंशीले बताइन् ।यसरी कृषि ज्ञान केन्द्रले दिएको लाखौंको मेशिन बिग्रिएपछि धेरैले आलोचना गरेका छन् ।
कृषि ज्ञान केन्द्रले पनि प्रविधिको विकास गर्न खोज्दा त्यसको सम्भावना कस्तो छ, सफल हुन्छ कि हँुदैन त्यसको लेखाजोखा नगरी सिफारिस गर्दा त्यसले सहकारीहरु मारमा परेको भन्दै अब यसको जिम्मा ज्ञान केन्द्रले लिनुपर्ने कुमार चुडाल बताउँछन् । उनले अब यसको सामाधानको उपाय नखोजे सहकारीहरु यो मेसिन कबाडीमा बेच्ने स्थितिमा पुगेको उनले बताए । त्यस्तै दिपेश शर्मा बिनायोजनाको कार्यशैली र राम्रो ब्यबस्थापन अभाबमा गरिएको लगानीको यो नतिजा भएको बताउँछन् । अब किलोको हिसाबले बेच्नुपर्ने अबस्थामा लाखौंको लगानी सत्यनास हुँदा त्यसको जिम्मेवारी ज्ञान केन्द्रले लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्