झापा, असार ३० । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई-५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो। स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो। यस अघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो। स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले। उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए। रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे। स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनाएको थियो। स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले। नेपालका सोमपाल कामी र आदील आलमले ३/३ विकेट लिए। कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए। यस जितसँगै नेपालले १८ खेलमा १७ अंक जोडेको छ। नेपाल लिग-२ को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्डको २२ खेलमा ३० अंक छ। सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्