झापा , असार ३१ । झापामा आफूमाथि भएको बलात्कारको बयान दिन प्रहरी कार्यालय पुगेकी बालिकामाथि महिला प्रहरीले नै दुर्व्यवहार गरेको पाइएको छ।

अर्जुनधारा नगरपालिका–७ की १५ वर्षीया बालिकालाई इलाका प्रहरी कार्यालय अनारमनीकी प्रहरी हवल्दार पूजा प्रसाईंले दुर्व्यवहार गरेकी हुन्।

ती बालिका आफूमाथि भएको बलात्कारको जाहेरी दिन बिहीबार इलाका प्रहरी कार्यालय अनारमनी पुगेकी थिइन्। पाँच महिनायता छिमेकी ५० वर्षीय मेचे थरका पुरुषले बलात्कार गरेको भनेर आफन्तलाई लिएर प्रहरीसमक्ष पुगेकी बालिकामाथि हवल्दार प्रसाईंले सोधपुछका नाममा दुर्व्यवहार गरेको आफन्तले बताएका छन्।मुद्धा फाँटमा उजुरी गर्न जाँदा महिला प्रहरीले ‘६ महिनासम्म किन नबोलेको, लाटी हो कि क्या हो ? भन्दै दुव्र्यवहार गरेको आफन्तले बताए। ‘उनीहरूले बालिकासँग फकाइफुल्याई बयान लिनुपर्नेमा महिला प्रहरीले धेरै नै थर्काए,’ पीडितका आफन्तले भने, ‘यसरी थर्काउँदा पीडित कसरी खुल्न सक्छन् ?’

त्यस्तै, मेडिकल गर्न लाने क्रममा प्रहरी हवल्दार प्रसाईँले, सुरुमा त नमज्जा भयो होला, तर पछि त मज्जा आयो होला नि होइन? पैसा, कपडा दियो होला भनेर दुर्व्यवहार गरेको उनीहरूको भनाइ छ।

यता, अनारमनी प्रहरीका डिएसपी रुगमबहादुर कुँवरले सोधपुछका क्रममा प्रश्न सोध्दा अस्वाभाविक लागेको भए पनि प्रहरीको नियत त्यस्तो नरहेको बताए। ‘अब, सोधपुछमा त्यस्तो त भइहाल्छ नि,’ उनले भने, ‘उहाँहरूलाई अस्वाभाविक लागे पनि हाम्रो नियत त्यस्तो होइन। उहाँहरूबाट सोधपुछ गर्नेक्रममा गल्ती भयो होला, तर हामी जानाजान त्यसो गर्दैनौं।’

डिएसपी कुँवरका अनुसार पीडित बालिका गर्भवतीसमेत छिन्। हिजै स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा गर्भ देखिएको हो। स्थानीय विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी उनलाई सधैं निरास देखिएपछि शिक्षिकाले सोधपुछ गरेका थिए।

‘शिक्षिकाले एकान्तमा लगेर सोध्दा आफू बलात्कृत भएको सुनाएकी रहिछन्,’ डिएसपी कुँवरले भने, ‘त्यसपछि जाहेरी परेको थियो। स्वास्थ्य जाँच गर्दा गर्भवती रहेको देखियो। धेरै सोझी छिन्, घटनाबारे चुपचाप रहिछन्।’बालिकाको आमा बितेको हुनाले उनी बुबासँगै बस्दै आएकी थिइन्। बुबा दिनभर काममा जाने हुनाले छिमेकीले गत वर्षको दसैंबाट नै उनलाई बलात्कार गर्दै आएको बताइएको छ।चैतदेखि भने उनको महिनावारी रोकिएको थियो। तर उनले घर परिवारमा घटनाबारे सुनाएकी थिइनन्। डरत्रास वा प्रलोभनका कारण घटनाबारे नखुलेको हुन सक्ने डिएसपी कुँवरले बताए। हिजो जाहेरी परेलगत्तै प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा रहेका कारण आरोपितको पहिचान खुलाउन असमर्थ रहेको डिएसपी कुँवरले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्