बिर्तामोड, असार ३१ । राजवंशी समाज विकास समितिको नेतृत्व चयनका लागि आज प्रतिष्पर्धा हुँदैछ ।

हिजोदेखि मोरङको कटहरी ३ राजवंशी टोलमा शुरु भएको राजवंशी समाज विकास समितिको छैटौं केन्द्रीय महाधिवेशनमा आज बन्दसत्र हुँदैछ । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षका लागि बाह्रदशीकी रत्नादेवी राजवंशी , भद्रपुरका तुलाराम राजवंशी , बाह्रदशीकै मोहन राजवंशी र मोरङका सुवन्तकुमार राजवंशीले आकांक्षा राखेको जनाइएको छ । केन्द्रीय अध्यक्षको एक पदका लागि धेरै उम्मेदवार हुने भएपछि निर्वाचन हुने संभावना रहेको छ ।महाधिवेशनमा झापाबाट ५७ र मोरङबाट ९२ जना प्रतिनिधिले भाग लिएका छन् । महाधिवेशनको हिजो प्रदेश नं १ का पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण राज्यमन्त्री ज्ञानेश्वर राजवंशीले उद्घाटन गरेका थिए ।

केन्द्रीय अध्यक्ष भीमराज राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद विद्यानन्द चौधरी , ताजपुरिया समाज कल्याण परिषदका अध्यक्ष पूर्ण ताजपुरिया , थारु कल्याणकारिणी सभाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तनुकलाल चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष इश्वरीलाल राजवंशीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन सचिव सुवन्तकुमार राजवंशीले गरेका थिए । कार्यक्रममा जग्गादाता धनन्जय राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै स्थानीय तहको निर्वाचनमा निर्वाचित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्