बिर्तामोड , असार ३१ । स्थानीय तहको पहिलो पाँच वर्षे कार्यकालमा बिनाप्रतिष्पर्धा बिर्तामोड नगरपालिकामा करिव सयजना करारका कर्मचारी नियुक्त भएका छन् ।

जनप्रतिनिधिका परिवारका सदस्य , आफन्त , पार्टीका कार्यकर्ता र चिनेजानेका त्यति धेरैले विनाप्रतिस्पर्धा नियुक्ती पाएका हुन् । बिर्तामोड नगरपालिकामा ८० जना स्थायी र १४६ जना करारका गरी २२६ जना कर्मचारी रहेका छन् । करारका १४६ कर्मचारीमध्ये नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको कार्यकालमा ९६ जना नियुक्त गरिएका हुन् ।
अधिकांशलाई विज्ञापन नखुलाई नगरपालिकामा भर्ती गराएको पाइएको छ । अरु त्यसअघि नियुक्त भएका करारका कर्मचारी हुन् । बिर्तामोड नगरपालिकाले नगर प्रहरी , ल्याब टेक्निसियनलगायतका पदहरुका लागि मात्र विज्ञापन खोलेको थियो । नगरपालिकाले २०७५ मंसिर १२ गते विज्ञापन खुलाएपनि नगर प्रहरी भागवन्डामा नियुक्त गरिएको थियो । जनप्रतिनिधि र पार्टीको भागवन्डाको आधारमा एक कमान्डर ,एक सहकमान्डर र १३ जना जवान गरी १५ जना नगर प्रहरीले नियुक्ति पाएका थिए । जनप्रतिनिधि र पार्टी प्रतिनिधिहरुले आफ्ना मान्छे त्यसमा लगाएका थिए । बहुमत रहेको नेकपा एमालेसंगै कांग्रेसले पनि नगर प्रहरीमा केही भाग पाएको थियो । नगर प्रहरीको कमान्डरमा नियुक्ति पाएका बिर्तामोड १ का ढलकबहादुर पाण्डेले वडाध्यक्ष अग्नी पाण्डेको सिफारिसमा नियुक्ति पाएको बताइएको छ । त्यस्तै कतिपय जनप्रतिनिधिहरुले आफ्नै परिवारका सदस्यहरुलाई कर्मचारीको रुपमा नियुक्त गरेका छन् ।
त्यसबेलाका कार्यपालिका सदस्य द्रौपदा गणेशका छोरा दिपेश गणेश , निता घतानीका भाइ रोशन घतानी , बिर्तामोड ३ की वडा सदस्य कुमारी दर्नालकी छोरी कुसुम दर्नाल,हाल बिर्तामोड ९ की वडा सदस्य संगीता सिवाका दाई विकास दर्जी सिवा , बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीका सालो पर्ने ख्यामबहादुर विष्टले नगरपालिकामा जागिर पाएका छन् । विकास दर्जी सिवा केन्द्रबाटै करार नियुक्त भएको जनाइएको छ । त्यस्तै बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले छोरी रोष्टा कन्दङ्वालाई २०६९ सालदेखि करारमा जागिर लगाइदिएको पाइएको छ । प्रायः सबै जनप्रतिनिधिहरुले आआफ्ना मान्छे नगरपालिकामा लगाएको पाइएको छ । २०७४ पछिका सबै करारका कर्मचारीको नियुक्तिमा निवर्तमान नगर प्रमुख शिवाकोटीको निर्देशन र सहमति रहेको पाइएको छ । उनैले धेरै कर्मचारी आफ्नो तजबीजले राखेका थिए । त्यस्तै अहिलेका नगर प्रमुख र तत्कालीन नगर उपप्रमुख पवित्रा महतारा प्रसाईको सिफारिसमा पनि कतिपय कर्मचारीले जागिर खाने अवसर पाएको बताइएको छ ।
अघिल्लो कार्यकालका प्रायः सबै वडाका जनप्रतिनिधिहरुले आआफ्ना मान्छे वडा कार्यालयमा राखेको पाइएको छ । भनसुन र सोर्सफोर्सका आधारमा सबैभन्दा धेरै कार्यालय सहयोगी पदमा जागिर खाएका छन् । बिर्तामोड नगरपालिकामा ३६ जना कार्यालय सहयोगी रहेका छन् । जुन अत्यधिक हो ।त्यस्तै सवारी साधन र दमकल शाखा कर्मचारीको रुपमा नजिकका धेरैले काम पाएका छन् । सवारी साधन र दमकल शाखामा २२ जना करार कर्मचारी छन् । एउटै परिवारका श्रीमान र श्रीमतीलाई निगाह राखेर जागिर लगाइदिएको पनि पाइएको छ । बिर्तामोड नगरपालिकालाई जनप्रतिनिधिहरुले भर्ती केन्द्र बनाएको एकीकृत समाजवादी पार्टीका प्रवक्ता तीर्थ सिग्देलले बताए । उनले अनाबश्यक कर्मचारीहरुलाई नगरपालिकाले तलब भत्ता खुवाएर पालिरहेको प्रतिक्रिया दिए ।

अघिल्लो कार्यकालमा नातागोता र राजनीतिक रुपमा नियुक्त गरिएका कचनकवल गाउँपालिकाका १८ जना करार कर्मचारीलाई साउन १ गतेदेखि विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । त्यहाँ अन्जार आलम गाउँपालिका हुँदा उनीलगायतले सयभन्दा बढी आफ्ना मान्छे करारमा नियुक्त गरेका थिए ।