बिर्तामोड , असार ३२ । बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ ।

साना सिंचाई कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो ।
शनिबार सहारा नेपालको सभाहलमा आयोजित कार्यक्रमका बीच कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८का ६ जना, वडा नम्बर ९का १५ जना र वडा नम्बर १०का ११ जना रहेका छन् ।
बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्षदेखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसंग विपन्न आवास,कृषि,पशुपंछी र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए । उनले कृृषकको जीवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिव विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको धारणा राखे ।
बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले सहारा नेपालसंगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए । ५ वर्षको अवधिका बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको हो । यस चालु आर्थिक वर्षमा मात्रै नगरबाट ६७ वटा र सहारा नेपालसंगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरिएको जनाइएको छ । वितरण गरिएका ट्युबवेलबाट करिब २ हजार विगाहभन्दा बढी जमिनमा सिँचाई पुगेको छ ।
सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनाली,कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, सञ्चालक समिति सदस्य शंकरप्रसाद रिजाल, लक्ष्मी आचार्य, गुहेश्वरी कार्की, नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया, कृषि प्राविधिक सुजित साहलगायत कृषकहरुको उपस्थिति रहेको थियो ।