कुमरखोद ,साउन १ । ईलाका प्रहरी कार्यालय कुमरखोद दिनभर तनावपूर्ण रह्यो ।

बाउन्स चेक दिने बैकिङ्ग कसूरका व्यक्तिलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय दमकबाट खटिएका सादा पोसाकका प्रहरीले एकाविहानै ४ बजे झापा गाउँपालिका वडा नं ३ बस्ने अशोक राईको घरमा घेरा हालेका थिए । पाँचजना व्यक्तिले घेरा हालेता पनि त्यहाँ प्रहरी भने ३ जना मात्र रहेका थिए भने अर्का दुई जनामध्ये एकजना कार ड्राईभर र एकजना रकम पाउने व्यक्ति थिए ।
एकाविहानै अचानक नौलो मान्छेहरुले घर घेरा हालेपछि घरभित्र रहेका परिवारमा खैलावैला मच्चियो । होहल्ला भएपछि स्थानीयवासीहरु राईको घरमा जम्मा भए । प्रहरीले गुण्डागर्दी शैलीमा परिवारका मान्छेलाई दुव्र्यवहार गरेपछि स्थानीयहरु जाइलागेका थिए । त्यसक्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा रकम पाउने दुर्गा पौडेलका छोरा विशाल पौडेल घाईते भएका छन् । घाईते विशाल पौडेल र गाडीचालक जसोतसो गाडी लिएर भाग्न सफल भए । बाँकी तीनजना सादा पोसाकका प्रहरीलाई गाउँलेले आफ्नो नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा रहेका सई केशव मगर , कृष्ण कार्की र गजेन्द्र रायमाझीलाई पछि कुमरखोद ईलाका प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो ।

ईलाका प्रहरी कार्यालयमा ल्याएपछि झन् वातावरण तनावपूर्ण बनेको थियो ।सुरक्षा व्यवस्था कडा पार्दै थप सुरक्षाका लागि सशस्त्र प्रहरी वल र जिल्लाबाट ईन्सपेक्टरसहितको प्रहरी टोली झिकाइएको थियो । बैंकिङ्ग कसूरको मुद्धामा अदालतबाट पक्राउ पुर्जी भएता पनि पक्रिने शैली गलत भएको स्थानीयको भनाइ छ । त्यसपछि बैकिङ्ग कसूर मुद्धामा अदालतबाट पक्राउ पुर्जी भएता पनि अशोक राईलाई पक्राउ नगरी आफै अदालतमा उपस्थित हुनु भनी सई केशव मगरले अनुरोध गरेका थिए । छलफलमा जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्