झापा , साउन २ । इलाम नगरपालिकाले पनि करारका कर्मचारीलाई कामबाट निकालेको छ ।

कम्प्युटर अपरेटर, नगर प्रहरी, कार्यालय सहयोगीलगायत केही करारका कर्मचारीहरुको नगरपालिकाले थप करार सम्झौता नगर्ने निर्णय गरेको हो । गत जेठ ३० गते बसेको इलाम नगरपालिका नगरकार्यपालिकाको बैठकले इलाम नगरपालिकामा कार्यरत केही कर्मचारीलाई नगरको व्ययभार कम गर्न थप करार सम्झौता नगर्ने निर्णय गरेको थियो । ती कर्मचारीहरु अघिल्लो कार्यकालमा राजनीतिक रुपमा नियुक्त भएको जनाइएको छ ।

यसैबीच नेकपा एमाले इलामले करारका कर्मचारीहरुको सम्झौता नविकरण नगरेकोमा असन्तुष्टि जनाएको छ । एमालेले विज्ञप्ति जारी गर्दै थप करार सम्झौता नगर्ने निर्णय राजनीतिक तुष फेर्ने कार्य भएको आरोप लगाएको हो । नगर अध्यक्ष तिलक ठकुरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘२०७९ जेठ ३० गते बसेको इलाम नगरपालिका नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिकामा कार्यरत केही कर्मचारीलाई नगरको व्ययभार कम गर्न भनी राजनितिक तुष फेर्नका लागि कम्प्युटर अपरेटर, नगर प्रहरी, कार्यालय सहयोगीहरुको थप करार सम्झौता नगर्ने निर्णय दुःखद र निन्दनीय छ । जसले श्रमजीवि वर्गको रोजीरोटी खोसी पेटमा लात हान्ने काम गरेको छ ।’एमालेले नगरको निर्णय सच्याउन समेत माग राखेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्