झापा , साउन ४ । नेटफ्लिक्सले स्ट्रिमिङ प्ल्याटफर्मको राजाको रुपमा आफ्नो ताज कायम राख्न संघर्ष गर्नु परिरहेको छ ।

गत अप्रिलदेखि जुलाई महिनाको बीचमा कम्पनीले करिब १० लाख सब्सक्राइबर गुमाएको हो । यद्यपि यो सङ्ख्या कम्पनीले अपेक्षा गरे जति भने होइन । चर्चित सिरिज स्ट्रेन्जर थिंग्सले प्रयोगकर्ताहरूलाई बाँधेर राख्न सफल भएको थियो । कम्पनीले यो वर्षको अन्त्यदेखि भने प्रयोगकर्ताहरू बढ्ने प्रक्षेपण गरेको छ । गत अप्रिलमा कम्पनीले पहिलोपटक आफ्ना प्रयोगकर्ता घटेको रिपोर्ट सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले धेरैलाई जागिरबाट समेत निकालेको थियो । मंगलबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा अमेरिका र क्यानडाबाट कम्पनीले सबैभन्दा धेरै प्रयोगकर्ता गुमाएको छ भने युरोपबाट पनि धेरै प्रयोगकर्ता बाहिरिएका छन् ।

मूल्य वृद्धिका कारण घाटा
नेटफ्लिक्सले पनि पछिल्ला केही समयमा ग्राहकका लागि मूल्य बढाएको छ, जसका कारण कम्पनीलाई नोक्सान भएको छ । अमेरिकामा दुईवटा डिभाइसमा एकैसाथ नेटफ्लिक्स चलाउने योजनाको मूल्य सन् २०१९ मा ११ डलर थियो, जुन २०२२ जनवरीमा १४ डलर भयो र अहिले १५.४९ डलर पुगेको छ । बेलायतमा पनि नेटफ्लिक्सले बेसिक र स्ट्यान्डर्ड योजनामा एक यूरोले बढाएको छ । अब महिनाको लागि आधारभूत योजना ६.९९ यूरो भएको छ र स्ट्यान्डर्ड योजना १०.९९ युरो भएको छ । जुनको अन्त्यसम्ममा कम्पनीका करिब २२ करोड ग्राहक थिए । कम्पनीको सम्भावनाप्रति लगानीकर्ता चिन्तित भएकाले यो वर्ष हालसम्म फर्मको सेयर मूल्यमा ६० प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्