झापा, साउन ५ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफूले राष्ट्रका लागि कुनै घात नगरेको बताएका छन् ।

संसदीय विशेष छानबिन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् । उनले गएको जेठ १४ गते मध्यराति अस्वाभाविक रूपमा करको दरमा हेरफेर नगरिएको जिकिर गरे । “करको दर हेरफेर गरेर राष्ट्रका लागि घात गरेको छैन,” शर्माले बैठकमा भने । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मासित समितिले छलफल गरेको हो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ । उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय उक्त समिति गठन गरिएको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए । आज समिति गठन गरिएको १० दिन पूरा भएको छ । समय अपुग भएको भन्दै सात दिन म्याद थप गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने तयारी पनि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्