बिर्तामोड, साउन ५ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायव उपरीक्षक(डिएसपी) रुगमबहादुर कुँवर असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

झापा अर्जुनधारा नगरपालिका–४ जुकेखाडी साहसी टोलस्थित कच्ची सडकखण्डको ह्युमपाइपभित्र अज्ञात व्यक्तिले कर्तव्य गरी मारी बोरामा प्याक गरी फालेको अवस्थामा तत्काल पहिचान नखुलेको मृतक पुरुषको लाशको सुक्ष्मरुपमा अनुसन्धान गरी उक्त लाशको पहिचान खुलाउन सफल हुनुको साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।
पुरस्कृत भएका कुँवरले लागूऔषध, चोरीलगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत डिएसपी कुँवरलाई उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै २०७९ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्