बिर्तामोड , साउन ६ । बिर्तामोड नगरपालिकाले फोहोरमैला विसर्जन गर्ने स्थलको व्यवस्थापन गरी अल्पकालीन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८का वडाध्यक्ष अजय कार्की र वडा नम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ रहेका छन् ।

बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुनसक्ने भन्दै सबै एकजुट भएर व्यवस्थापनमा लाग्नु पर्ने बताइन् । बैठकले टोल विकास संस्थामार्फत सबै घरधनी र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न र फाहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर बाहिर निकालेर दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

कार्यपालिकाको बैठकले बिर्तामोड नगरपालिकाको शिक्षा ऐन जारी नभएसम्मका लागि शिक्षकहरुको अन्तरपालिका र अन्तरजिल्लाको सरुवा रोक्ने निर्णय गरेको छ । शिक्षा ऐनको मस्यौदा तयार भएर छलफलको क्रममा रहेको र साउनको अन्तिमसम्ममा छलफल सकेर कार्यपालिकामा पेश गर्नेगरी काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

यस्तै चालु आर्थिक वर्षबाट सञ्चालन गरिने नगरस्तरीय तथा वडास्तरीय योजनाहरु तीन चरणमा विभाजन गरी योजनाहरुको लागत इस्टिमेट तयार गर्ने, सम्झौता गर्ने र सम्झौता भएका सबै योजनाहरुको अन्तिम फरफारक बैशाख मसान्तसम्ममा सम्पन्न गर्नेगरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ । बैठकले नगरपालिकाको निर्णय र क्रियाकलापहरुलाई सार्वजनिकीकरण गर्न वडा नम्बर १का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलाई प्रवक्ता तोकेको छ । वडाध्यक्ष पाण्डे यसअघिको कार्यकालमा पनि नगरको प्रवक्ता रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्