झापा , साउन ७ । प्रदेश १ नेकपा (माओवादी केन्द्र)को बैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजयको ५ कारण पहिचान गरेको छ ।

सुनसरीको इटहरीमा सम्पन्न बैठकले पहिचान गरेका कारणहरूमा सांगठनिक अवस्था मजबुत नहुनु, काँग्रेसको गुटगत झगडाले गठबन्धन प्रभावकारी नहुनु, उम्मेदवार छनौटमा कमजोरी रहनु, कतिपय क्षेत्रमा घात अन्तर्घात हुनु र उम्मेदवारी घोषणा तथा गठबन्धनको निर्णय ढिलो हुनु रहेका छन् । बैठकमा माओवादीका १४ जिल्लाकै जिल्ला समन्वय समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । सोही रिपोर्टिङका आधारमा प्रदेश समितिले हारका कारण निकालेको हो ।

माओवादी केन्द्र झापाले स्थानीय तह निर्वाचन हार्नुमा अन्तर्घात मुख्य भएको बताएको छ । झापा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य (अग्नि)ले भद्रपुरमा अन्तर्घातले उपमेयरका उम्मेदवार शिव राजभण्डारी हारेको बताएका थिए ।
यस्तै ३४ प्रदेश सदस्य भएको झापामा प्रायः सबै वडा हारेको भन्दै उनले पार्टीका पोलिटब्युरो सदस्य नै उम्मेदवार हराउन लागेको आरोप पनि लगाए । उनको आरोप पार्टीकी नेतृ धर्मशीला चापागाईंप्रति लक्षित थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्