झापा, साउन ८ । बलिउड अभिनेता रनवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ ।

चलचित्रले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसको प्रत्यक्ष असर फिल्मको बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो दिन बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन । रिपोर्टका अनुसार १५० करोड भारुको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा जम्मा १०.२५ करोड भारु मात्र कलेक्सन गर्न सक्यो । फिल्म विश्वभर ५,५०० स्क्रिनमा रिलिज भएको छ भने भारतमा ४,३५० स्क्रिन पाएको छ । तर यति धेरै स्क्रिन पाउँदा पनि फिल्मले राम्रो ओपनिङ गर्न सकेन ।

खराब प्रदर्शनपछि हुन थाले शो रद्द
पहिलो दिनको खराब प्रदर्शनपछि विश्वभर फिल्मका धेरै शो रद्द गरिएको बताइएको छ । फिल्म व्यापार विश्लेषकहरूले रनवीरको लामो समयपछि आएको यो फिल्म उनको अर्को फ्लप फिल्म हुने देखिएको बताएका छन् । रनवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फर्किएका छन् । पछिल्लो पटक रनवीर सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’ मा देखिएका थिए । शमशेरा रनवीर कपूरको करियरको छैटौँ सर्वाधिक ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । रनवीरको सबैभन्दा धेरै ओपनिङ डे कमाई गर्ने फिल्म सञ्जु फिल्मले पहिलो दिन ३४.७५ करोड भारु कमाएको थियो । त्यसपछि उनका धेरै ओपनिङ डे कमाई गर्ने फिल्महरु क्रमशः बेशर्मले २१.५६ करोड भारु, ए जवानी हे दिवानीले १९.४५ करोड भारु, ए दिल हे मुश्किले १३.३ करोड भारु र तमाशाले १०.९४ करोड भारु कमाएका थियो । तर ओपनिङ डेको कमाईको हिसाबले यस फिल्मले यसै वर्ष आएका अक्षय कुमारको ‘पृथ्वीराज’ (१०.७० करोड भारु ) र आलिया भट्टको ‘गंगुबाई काठियावाडी’ (१०.५० करोड भारु) लाई उछिन्न सकेन । ‘शमशेरा’ ले नाफा कमाउनको लागि समग्रमा १६५ करोड भारु कमाउनुपर्नेछ । तर पहिलो दिनको कमाइका आधारमा फिल्मले त्यस्तो व्यापार गर्ने सम्भावना कम देखिएको फिल्म व्यापार विश्लेषकले आकलन गरेका छन् । करण मल्होत्राले निर्देशन गरेको यस फिल्ममा रनवीरका अलावा संजय दत्त, वाणी कपूर, रोनित रोय र सौरभ शुक्ला पनि प्रमुख भूमिकामा छन् । यो वर्ष हालसम्म भारतको हिन्दी भाषामा रिलिज भएका फिल्ममध्ये ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म केजीएफ २ रहेको छ । यसले पहिलो दिन ५३.९५ करोड भारु कमाएको थियो । त्यसपछि हलिउड फिल्म डक्टर स्ट्रेन्जरको हिन्दी भर्सनले २८.३५ करोड कमाएर दोस्रो स्थानमा रहेको छ । ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्ने तेस्रो र चौथो फिल्म पनि डब फिल्म नै छन् । ती क्रमशः आरआरआर(२०.०७ करोड भारु) र थोरः लभ एण्ड थण्डर(१८.६० करोड भारु) हुन् । ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्ने पाँचौ स्थानमा बल्ल मौलिक रुपमा हिन्दी भाषामै बनेको फिल्म रहेको छ । पाँचौ स्थानमा रहेको भूलभूलैयाले १४.११ करोड भारु कमाएको थियो । पहिलो दिन धेरै कमाउने हिन्दी भाषी फिल्मको सुचिमा शमशेरा नवौँ स्थानमा छ । शमशेराअघि बच्चन पाण्ड छैटौँ स्थानमा, सम्राट पृथ्वीराज सातौँ र गंगुबाई काठियावाडी आठौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्