झापा , साउन ९ । अछामको तुर्माखाँद–२ भुलुमा गएराति पहिरोमा पुरिँदा एकैघरका ३ जनाको मृत्यु भएको छ । एकजनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले बताए ।
अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी डाँगीले जानकारी दिए । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएको उनले बताए ।