बिर्तामोड ,साउन १० । प्रदेश सरकारको भाषा,कला साहित्य प्रतिभा सम्मानबाट गत असार २८ गते सम्मानित क्षितिज नाट्य प्रतिष्ठान प्रदेश न.१ झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितसहित दुई स्रष्टालाई सोमबार झापा नाटकघर परिसरमा भब्य स्वागत सम्मान गरिएको छ ।

कल्पितसहित नवोदित भाषा,साहित्य कला प्रतिभा सम्मान प्राप्त गर्नेे रेडियो बिराटकी प्रबन्ध निर्देशक लीला अनमोल र साहित्य चौतारी झापाकी सचिव खगेन्द्रा खुशीलाई क्षितिज नौमती बाजा ब्यबस्थापन समितिका कलाकारहरुले नौमती बाजागाजाका साथ झापा नाटकघरमा पुर्याएका थिए ।

प्रतिष्ठानकी संरक्षक माया सिटौलाको अध्यक्षता तथा प्राज्ञ सुभद्रा भट्टराई प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्मानित स्रष्टा माधब कल्पितले बाल्यकालदेखि नै रंग साहित्यका माध्यमबाट समाज रुपान्तरणका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै क्षितिज नाट्य प्रतिष्ठानका नाट्य ,साहित्य नृत्य ,संगीत ,नौमती तथा केन्द्रीय समितिको संयुक्त आयोजनामा सम्मान गरेको जनाइयो ।आफूलाई रंग साहित्यका विधाबाट डोर्याएर यहाँसम्म ल्याउने गुरुप्रति आदरभाव प्रकट गर्दै गुरुलाई स्वागत सम्मानस्वरुप खुशी साटासाट गर्न यो कार्यक्रम आयोजना गरिएको नाट्य विभागका प्रमुख गजेन्द्र पृथकले जानकारी दिए ।

रंगमञ्चको दौरानमा सडकमा विवाह गरेर स्टेजमा छोराछोरी हुर्काउँदै अहिले सिंगो परिवार नै बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर निर्माण गर्ने अभियानमा समर्पित कल्पितको बाल्यकालदेखिको रिल लाइफ र रियल लाइफको बारेमा सञ्चारकर्मी सुब्रत न्यौपानेले प्रकाश पारेका थिए । यसैगरी साहित्यिक स्रष्टाद्वय लीला अनमोल र खगेन्द्रा खुशीको जीवनीमाथि स्रष्टा सुनिता तामाङले प्रकाश पारेकी थिइन् । सम्मानपत्र खादा,माला अबिर टिका प्रदान गरी नौमती बाजागाजाका साथ सबैलाई भब्य सम्मान गरिएको कार्यक्रममा साहित्य चौतारी झापा,साहित्य कला संस्कृति प्रतिष्ठान,जयइन्द्र साहित्य प्रतिष्ठान, प्रगतिशील लेखक समाज, बिर्तामोड नगरपालिका तथा वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतका २ सयबढी साहित्यिक स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मोरिक साधना कला केन्द्रका नवोदित बाल प्रतिभाहरुले मारुनी,तामाङ सेलो नृत्यका साथै स्वदेश गान प्रस्तुत गरेका थिए भने नौमती समितिको बाजाले सबै स्रष्टा सर्जकहरुलाई स्टेजमा उतारेको थियोे । साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्रष्टा सर्जकले रचना वाचन तथा शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्