झापा, साउन १० । कोलकताका महावाणिज्य दूत ईश्वरराज पौडेलले मेचीनगर–४ स्थित बाहुनडाँगीको दुईदिने अवलोकन भ्रमण गरेका छन् ।

नेपाली महावाणिज्य दूतावासको कार्यालय पश्चिम बंगाल कोलकताका महावाणिज्य दूत पौडेलले शनिबार र आइतबार भारतसँग सीमा जोडिएको बाहुनडाँगी बजार, सीमानाका, लागूऔषध, हात्ती र व्यापारका विषयमा अवलोकन गरेका हुन् ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले महावाणिज्य दूत पौडेललाई हात्ती, लागूऔषधलगायतका समस्या तथा यहाँ उत्पादन भएका वस्तुको बजारीकरणका विषयमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र भारतसँग सीमा जोडिएको बाहुनडाँगीमा लागूऔषधको ओसारपसार र कारोबार, चेलीबेटी बेचविखन, खोला उत्खनन्, यसक्षेत्रबाट हुने असामाजिक अमानवीय र गैरकानूनी कारोबारलाई भारतीय प्रशासनले इमानदारपूर्वक निगरानी र कडा कारवाही गर्नसके नियन्त्रण तथा न्यूनीकरण हुनसक्ने उल्लेख छ ।

यसबाहेक साविक बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको समस्याका कारण धनजन र हात्ती स्वयमलाई पुग्ने क्षतिको न्यूनीकरण गर्न भारतीय उच्च अधिकारीहरुसँग छलफल गरी समाधानको उपाय खोज्न पहल गरिदिन, कोरोनाका कारण स्थगित भएको सीमा बैठक सुचारु गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

त्यस्तै यो क्षेत्र चिया, सुपारी, तेजपत्ता, मरिच, गाईपालनमा स्थापित भएपनि यसको मुख्य बजार भारत नै भएको हुँदा उचित मूल्यमा ती वस्तुहरु बिक्री वितरणको पहल गरिदिन महावाणिज्य दूतसँग स्थानीयबासीले माग गरेका छन् ।बाहुनडाँगीको मुख्य समस्या हात्ती भएकोले हात्तीबाट घाइते भएका, अन्य रोग विरामले अप्ठेरोमा परेका मेचीनगर–४ का बासिन्दाका लागि एउटा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराउन पहल गरिदिन पौडेललाई ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

बाहुनडाँगीको सीमानाका मेची खोलाको पारीपट्टि ताराबारीसम्म स्थानीयलाई सहज आवतजावत गर्न झोलुङ्गे पुल निर्माणका लागि पनि पहल गरिदिन महावाणिज्य दूत पौडेलसंग माग गरिएको वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्