बिर्तामोड, साउन १० । झापा बिर्तामोड–४ को नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बृद्धाश्रममा आश्रित बृद्धबृद्धालाई खाद्यान्न वितरण गरेको छ ।

शिक्षालयले बिर्तामोड–४ को परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो घरमा रहेका बृद्धबृद्धालाई नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसर पारेर सोमवार खाद्यान्न सामग्री वितरण गरेको हो ।

समाजलाई रुपान्तरण र सशक्त बनाउनु पर्ने साथै राम्रो आचरण र सुखी समाजको परिकल्पनाकार समेत रहेका स्व. कर्माचार्यको सोचलाई सार्थक बनाउने उद्धेश्यले प्रत्येक बर्ष उनको स्मृतिमा रचनात्मक कार्य गर्दै आएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए । उनको स्मृतिमा स्थापना भएको नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बाली, पशु र बनका बिषयमा शिक्षा प्रदान गर्दै आएको बताउँदै होटल म्यानेजमेन्ट र फार्मेसी पनि सञ्चालनमा ल्याउने तयारी रहेको अध्यक्ष दर्लामीले बताए ।

शिक्षालयका अध्यक्ष दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज राम कार्की (पार्थ) को प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि कार्कीले शिक्षालयमा अध्ययनरत बिद्यार्थीलाई दिनमा एक घण्टा बृद्धाश्रममा आएर बुवाआमाको सेवा गर्न आग्रह गरे । उनले दिनमा एक घण्टा पनि नभए बर्षमा २० घण्टा एकजना बिद्यार्थीले बृद्धाश्रममा आएर बृद्धबृद्धाको सेवा गर्नु पर्नेमा जोड दिए । कम्युनिष्टकै जनप्रतिनिधि उक्त नगर तथा वडामा भएपनि बृद्धाश्रमका लागि खासै कार्य नगरेकोप्रति कार्कीले दुःख ब्यक्त गरे । बृद्धबृद्धालाई खाद्यान्न प्रदान गर्दै कार्कीले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

बृद्धाश्रमका कार्यालय सचिव बेनुप्रसाद भट्टराईले आश्रममा हाल १२ जना बृद्ध र १४ बृद्धा गरी जम्मा २६ जना आश्रित रहेको जानकारी दिए । त्यस्तै उनीहरुको स्याहारसुसारका लागि ४ जना कर्मचारी रहेको बताए । विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहयोगले आश्रम चलिरहेको उनको भनाई थियो ।
कार्यक्रममा शिक्षालयका कोषाध्यक्ष प्रकाश भट्टराई, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षालयका सचिव जयप्रसाद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्