झापा, साउन १० । भारतसंगको खुल्ला सिमानाका कारण सिमावर्ती झापामा कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना संक्रमणको चौथो लहर शुरु भइसकेको आशंका भइरहँदा भारतबाट भित्रिनेहरुका कारण जिल्लामा कोरोना संक्रमितहरु दिनप्रतिदिन थपिदै गएका छन् ।

साउन १ देखि १० गतेसम्म जिल्लामा १२५ जना संक्रमित देखा परिसकेका छन् ।साउन १ गते १७ जना, २ गते ६ जना ,३ गते ५ जना ,४ गते १२ जना , ५ गते १० जना , ६ गते १९ जना , ८ गते ३२ जना , ९ गते १२ जना र १० गते १२ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये अधिकांश संक्रमित भारतबाट आउनेहरु छन् । पूर्वी नाका काँकरभिट्टामा खटिएकी स्वास्थ्यकर्मी शान्ता भण्डारीले दैनिक औसतमा दुई सयभन्दा बढी शंकास्पद यात्रुहरूको एन्टिजेन परीक्षण भइरहेको जानकारी दिइन् । जसमध्ये औसतमा दैनिक ५ जना बढीमा कोरोना पोजिटिभ देखिएको छ । उनका अनुसार ७ दिनमा ५४ जनामा पोजिटिभ देखिएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो। पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । २१८ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा तीन सातायता लगातार संक्रमितको ग्राफ तीव्र गतिमा उकालो लागेको छ । यसरी संक्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ नै रहेको विज्ञहरू बताउँछन् । कोभिड–१९ संक्रमितको संख्या दैनिक उकालो लागिरहेका कारण चौथो लहर सुरु भएको टिप्पणी पनि भइरहेको छ । नेपालमा कोभिड–१९ का अघिल्ला लहरहरू र विश्वमा फैलिएको नयाँ भेरियन्ट बीए.५ संक्रमणको अवस्थालाई हेर्दा निकट भविष्यमा संक्रमणको ग्राफ नेपालमा कुन तहसम्म पुग्न सक्छ भन्नेबारे पनि चासो बढेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले अब चौथो लहर होइन भनेर ‘इग्नोर’ गर्न नसकिने बताए । ‘नयाँ भेरियन्ट पनि नेपालमा पुष्टि भएको छ । हामीले परीक्षण नगरेर मात्रै थाहा नभएको हो ’ उनले भने‘ परीक्षण नगर्ने अनि चौथो लहर आएको होइन भन्न त मिलेन नि ! परीक्षणको मात्रा बढाउनुपर्छ । धेरै मानिस परीक्षण नगरिकन घरघरमा बसिरहेका छन् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार ठूलो संख्यामा ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ देखिएको छैन । चाहिने जति नमुना परीक्षण नहुँदा ठूलो संख्यामा संक्रमण नदेखिएको हो । दैनिक पीसीआर र एन्टिजेन गरी २५÷३० हजारको हाराहारीमा नमुना परीक्षण गरिएको छ । एन्टिजेनभन्दा पीसीआर परीक्षणले बढी पोजेटिभ देखाउने गर्छ । पीसीआरमात्र १५ देखि २० प्रतिशतको हाराहारीमा पुगेको छ । पर्याप्त मात्रामा कोरोना परीक्षण नगर्दा पनि दैनिक करिब साढे चार सयको हाराहारीमा संक्रमित पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्