झापा , साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको छ ।

बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।
५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए। त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।
यस वर्षको ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको परीक्षा बोर्डले जनाएको छ । २.८ देखि ३ दशमलव २ जीपए ल्याउनेको संख्या ६९ हजार ९०० रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७५८ रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७३३ रहेका छन् । यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५९४, १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २८० रहेको बोर्डका सदस्य सचिव अर्यालले जनाए ।