झापा, साउन १२ । एउटै रुखमा तीन किशोरी झुन्डिएको घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीलाई चौतर्फी दवाव परेको छ ।

तीन किशोरीहरुले एकसाथ एउटै रुखमा झुन्डिएको घटनालाई स्वाभाविक लिन नसकिने भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न दवाव दिइएको हो । यसक्रममा कचनकवलको बनियानीमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
नेपाल गनगाई कल्याण परिषद् झापा र स्थानीय भ्वाइस अफ गनगाई कम्युनिटीको आयोजनामा विद्या निकेतन मावि र कचनकवल माविका विद्यार्थीहरूले हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । बनियानी चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै कचनकवल गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो । त्यसपछि नेपाल गनगाई कल्याण परिषद् र भ्वाइस अफ गनगाई कम्युनिटीले गाउँपालिका र इलाका प्रहरी कार्यालय बनियानीलाई ज्ञापनपत्र बुझाएका थिए ।
भ्वाइस अफ गनगाई कचनकवलका अध्यक्ष रघुनन्दन गणेश र उपाध्यक्ष चन्दन गणेशले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक कुलप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत साउन ८ गते आइतबार बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारमा रहेको बयरको रुखमा सोही ठाउँका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ‘यो घटना आत्महत्या वा हत्या निकै पीडादायक र शङ्कास्पद छ । घटनाको सत्य तथ्य छानबिन, पीडितहरूलाई न्याय तथा दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं ’ ज्ञापनपत्रमा भनिएको छ ।
यसैबीच सो घटनाबारे छानबिन गर्नका लागि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपीको नेतृत्वमा थप अनुसन्धान टोली खटाएको छ ।
प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज ढुंगानाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता नविनराज राईले जानकारी दिए । सो टोलीमा प्रदेश प्रहरी कार्यालयसहित नेपाल प्रदेश प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी कर्मचारी रहेका छन् । डीएसपी ढुंगानासहितको टोली बुधवार नै घटनास्थलतर्फ खटाइसकेको एसपी राईले बताए ।
प्रहरी कार्यालय झापाले पनि सो घटनाको विषयमा अनुसन्धान गरिरहेको बताउँदै एसपी राईले भने, ‘झापा प्रहरीलाई थप सपोर्टका लागि प्रदेशबाटै अनुसन्धानका लागि टोली खटाएको हो ।’ ‘सो टोलीले घटनास्थलसहित मृतकका परिवारजन र छरछिमेकसँग घटनाको विषयमा सुक्ष्म तरिकाले अनुसन्धान गर्छ’ उनले भने, ‘केही दिनका लागि टोली त्यही खट्छन्, सीमा नाकासँग जोडिएकोले घटनाको विषयमा भारतीय काउन्टर पार्टससँग पनि समन्वय गर्छन् ।’यता प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पोस्टमार्टमको रिपोर्ट अझै आईनपुगेको बताए । मृतक किशोरीसँग फेला परेको दुईवटा मोबाइल फोन फोरेन्सिक टेस्टका लागि काठमाडौँ पठाइसकेको बताउँदै डीएसपी पाठकले भने, ‘दुवै फोन स्क्रिन टच हो, दुई वटामै भारतीय सिम कार्ड छ ।’