बिर्तामोड , साउन १३ । सानैदेखि शारीरिक रुपमा विकलांग बिर्तामोड ९ का १९ वर्षिय विमन तामाङले ह्वीलचियर पाएपछि उनका परिवार खुशी भएका छन् ।

ह्वीलचियर नहुँदा समस्या रहेको थियो । प्लाष्टिकको कुर्सीमुनि चक्का जोडेर तामाङ परिवारले विमनलाई बसाउने गरेका थिए । अब ह्वीलचियर भएपछि बसाउन र हिँडडुल गराउन सजिलो भएको विमनका बुवा धनप्रसाद तामाङले बताए । ६–७ वर्षअगाडि विमनलाई ह्वीलचियर दिइएको थियो । तर, त्यो भत्किसक्यो । ह्वीलचियर नहुँदा विमनलाई कुर्सीमा सिरानी राखेर बसाउनु परेको समस्या रहेको आमा कुसुम डोल्मा तामाङले सुनाइन् ।
रोटरी क्लब अफ डिल्लीबजार काठमाण्डौंका सदस्य बिर्तामोड ३ निवासी रोटरीयन युवराज रोक्काको पहलमा विमनलाई १ थान ह्वीलचियर वितरण गरिएको हो । काठमाडौंबाट प्राप्त सो ह्वीलचियर बिर्तामोड वडा नं ९ का वडा अध्यक्ष हरिप्रसाद चम्लागाईले विमनका बुवा धनप्रसादलाई बिहीबार हस्तान्तरण गरे । कार्यक्रममा समाजसेवी टंकप्रसाद आचार्य, नेकपा एमालेका वडा सचिव प्रेम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले विभिन्न जिल्लाका १२ जना असहाय अपांग व्यक्तिलाई ह्वीलचियर वितरण गरेको हो । त्यसरी ह्वीलचियर पाउने व्यक्ति र संस्थामा मातृका आँखा अस्पताल पुरानो बानेश्वर २ थान,रमानन्द ठाकुर बुढीगंगा गाउँपालिका मोरङ १ थान,योगमाया केसी बुढीगंगा गाउँपालिका मोरङ १ थान,विमन तामाङ बिर्तामोड ९झापा १ थान,कृष्णबहादुर राना मगर, नागार्जुन नगरपालिका सीतापाइला १ थान, ललितबहादुर खड्का काठमाडौं महानगरपालिका २९ घट्टेकुलो १ थान,सुजिता पोखरेल विराटनगर १ थान,.तामाकोशी विकास समिति मन्थली १ थान,राधिका पराजुली लमजुङ १ थान,जी.एम.पी फाउण्डेशन काठमाडौं १ थान र आइसोलेशन फिभर अस्पताल काठमाडौं रातोपुल १ थान रहेको रोटरीयन युवराज रोक्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्