झापा , साउन १३ । अदालतले दुई दिन कैद सजाय सुनाइएका मोरङ घर भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका मोरङको रतुवामाई नगरपालिका-६ घर भई सुनसरीको धरान उपमहानगरपालिका-९ मा बसोबास गर्दै आएका ३२ वर्षीय लक्ष्मण कार्की पक्राउ परेका हुन् । प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह (रिट)बाट खटिएको टोलीले धरान-१२ छाता चोकबाट उनलाई पक्राउ गरेको हो। अदालतले गरेको दुई दिनको कैद सजाय छल्नलाई उनी डेढ वर्षदेखि फरार रहेको पाइएको छ । यद्यपि अदालतले उनलाई नौ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला पनि गरेको थियो । कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेका उनलाई बिहीबार पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । उनका अनुसार कार्कीलाई उच्च अदालत विराटनगरले २०७७ पुस २७ गते दुई दिन कैद र नौ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि जिल्ला अदालत सुनसरीले कार्कीलाई कैद सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरेको छ ।