झापा , साउन १३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष झापाका कुनै पनि विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन सकेनन् । ४ जिपिएभन्दा कम ३.९५ जिपिए जिल्लाका दुई विद्यालयले ल्याएका छन् ।

सामुदायिकतर्फ कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका प्रमिश कोइरालाले ३.९५ जिपिए ल्याएका हुन् । कनकाई माविका २६२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । त्यसमध्ये ८ जनाबाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताए । उनले ३.६ देखि माथि उच्च जिपिए ल्याउने ४ जना , ३.२ देखि ३.६ जिपिए १६ जना , २.८ देखि ३.२ जिपिए २० जना , २.४ देखि २.८ जिपिए ६७ जना , २.० देखि २.४ जिपिए ७१ जना , १.६ देखि २.० जिपिए ६६ जना र १.२ देखि १.६ जिपिए ल्याउने ८ जना रहेको बताए ।

त्यस्तै संस्थागत विद्यालयतर्फ चिल्ड्रेन गार्डेन एकाडेमी हल्दिबारी १ गोलधापका भुवन कार्कीले सबैभन्दा बढी ३.९५ जिपिए ल्याएका छन् । त्यस विद्यालयबाट २२ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४ जनाले उच्च जिपिए ल्याएका छन् । सशांक शिवाकोटीले ३.७५, रुष्मा पाठकले ३.६५ र इक्शा लिङ्देनले ३.६५ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल पुष्प खरेलले बताए । पढाईमा स्तरीय आफूहरुको विद्यालय २०७२ सालमा ९०.१३ प्रतिशत ल्याई झापा जिल्लाकै दोस्रो भएको उनले बताए । २०७२ सालमा ३ जना , २०७३ मा ५ जना ,२०७४ मा एकजना ,२०७५ मा ८ जना ,२०७६ मा १० जना र २०७७ मा ४ जना विद्यार्थीले उच्च जिपिए ल्याएको उनले जानकारी दिए ।

झापामा यस वर्षको एसईई परीक्षामा २६० जना विद्यार्थीले उच्च जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए १३११ जना , २.८ देखि ३.२ जिपिए २७४६ जना , २.४ देखि २.८ जिपिए ३४१३ जना , २ देखि २.४ जिपिए ३३९८ जना , १.६ देखि २ जिपिए ३१६४ जना र १.६ भन्दा कम १७०५ जनाले ल्याएको शिक्षा समन्वय एकाई झापाले जनाएको छ । त्यस्तै प्राविधिक धारतर्फ ३.२ देखि ३.६ जिपिए ल्याउने २३ जना , २.८ देखि ३.२ जिपिए ल्याउने १४९ जना , २.४ देखि २.८ जिपिए ल्याउने २३९ जना ,२ देखि २.४ जिपिए ल्याउने १३५ जना ,१.६ देखि २ जिपिए ल्याउने २३ जना र १.६ भन्दा कम जिपिए ल्याउने ३ जना विद्यार्थी रहेको शाखा अधिकृत दुर्गेन्द्र न्यौपानेले बताए ।

यस वर्षको एसईई परीक्षामा परीक्षा फर्म भरेकामध्ये ३१७ जना परीक्षार्थी अनुपस्थित भएका छन्। अनुपस्थित भएर वा गडबडी भएर त्यति परीक्षार्थीको नतिजा नआएको न्यौपानेले बताए । जिल्लाका दुईवटा संस्कृत माविको नतिजा नआएको उनले जानकारी दिए । झापामा यसवर्ष १६ हजार ३ सय ७९ जना परीक्षार्थीले एसईई दिएका थिए । नियमित धारतर्फ १५ हजार ७ सय २१ , ग्रेड बृद्धितर्फ ६५ र प्राविधिक धारतर्फ ५७४ जनाले एसईई परीक्षा दिएका थिए ।

यस वर्षको नतिजा सन्तोषजनक भने देखिएन । शैक्षिकसत्र २०७५ को तुलनामा यो पटकको नतिजा खस्किएको हो । २०७६ र ०७७ मा भने राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा प्रमाणित गरेको थियो। शैक्षिकसत्र २०७५ मा परीक्षा दिएका मध्ये ३.८३ प्रतिशतले उच्च जिपिए (३.६देखि ४.०) ल्याएका थिए । यो पटक भने परीक्षा दिएका कूल विद्यार्थीमध्ये १.९४ प्रतिशतले ३.६ देखि ४.० जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ९ हजार ६ सय ३३ जनाले उच्च जिपिए ल्याएका हुन्। यसरी हेर्दा नतिजा १.८८ प्रतिशतले खस्किएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्