झापा , साउन १४ । नेपालबाट भारत निर्यात हुने तरकारीको ट्रकमा लागूऔषध ओसारपसार हुने गरेको पाइएको छ ।
नेपाल-भारत सीमा नाका मोरङको विराटनगरबाट भारतको जोगवनीतर्फ बिना भन्सार लुकाइछिपाइ लैजाँदै गरेको बन्दाकोपी बोकेको मिनी ट्रकभित्र लागूऔषध गाँजा बरामद भएसँगै यस्तो कारोबार हुने गरेको खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बिहीबार मध्यराती साढे ११ बजे रानी ढाट नजिकैबाट प्र-१-०२-००१ ख ८६७७ नम्बरको बन्दाकोपी लोड गरिएको एउटा मिनी ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ । ट्रकमा लोड गरिएको बन्दाकोपीभित्र लुकाइछिपाई राखेको ६ बोरा गाँजा सशस्त्र प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीका एसएसपी तथा प्रवक्ता विश्वराज भट्टराईले जानकारी दिए। ‘मिनी ट्रकमा ४६ बोरा बन्दाकोपी थियो,’ प्रवक्ता भट्टराईले भने, ’बन्दाकोपीको बोरासँगै गाँजा प्याक गरिएको ६ वटा बोरा फेला पर्यो।’ बरामद गरिएको १५६ केजी गाँजासहित ट्रक, ट्रक चालक धनकुटा सहिदभुमि गाउँपालिका-३ बस्ने २९ वर्षीय विवेक राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी बुझाइसकेको उनले बताए । भन्सारमा राजश्व तिरेर तरकारी लैजाने प्रक्रियामाथि सरकारले कडाइ गरेपछि कारोबारी तथा व्यापारीले भेरिया नाकाबाट तस्करीको माध्यमबाट तरकारी भारत पठाउँदै आएको छ । सोही नाकाबाट जान लागेको बन्दाकोपी बोकेको ट्रक चालक बाटो बिर्सिएर रानी नाका पुगेका थिए ।