झापा, साउन १४। सगरमाथा क्षेत्रमा पर्यटकहरू एक्लै हिँडडुल गर्न नपाउने भएका छन् ।

विभिन्न देशबाट सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकहरू एक्लै भ्रमणमा निस्किने भएकाले हिँडडुलमा कडाई गरिएको प्रहरीले जनाएको छ । जेठ ५ गते खुम्बु क्षेत्रको भ्रमणमा आएका २ जना विदेशी पर्यटक बेपत्ता भएसँगै विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले यस्तो नियम कडाईका साथ लागू गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले बताए । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न समस्या आइपर्ने भएकाले नाम्चे प्रहरी चौकीभन्दा माथिको क्षेत्र भ्रमणका लागि साथी अनिवार्य गरिएको हो। जाँचमा कडाई गर्न नाम्चे प्रहरीलाई निर्देशनसमेत दिएको छ । जेठ ५ गतेदेखि भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्रमोहन र कोरियाली नागरिक ५० वर्षीय योहन सम्पर्कविहीन बनेका हुन् । बेपत्ताको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेना परिचालित भए पनि अहिलेसम्म पत्ता लगाउन नसकेको प्रहरी जनाएको छ।

२६ हजारभन्दा बढी पर्यटक पुगे खुम्बु
एक वर्षमा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि २६ हजारभन्दा बढी पर्यटक पुगेका छन्। आ.व. ०७८/७९ मा खुम्बु क्षेत्रको भ्रमणका लागि २६ हजार ४ सय ७४ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जको तथ्यांकअनुसार आ.व. ०७७/७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८/७९ मा २२ हजार १३९ जनाले बढी भ्रमण गरेको जनाइएको छ । जसमा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २७६ जना नेपाली रहेको निकुञ्ज कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिए । खुम्बु क्षेत्रमा वर्षको दुई समय असोजदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म मुख्य पर्यटकीय सिजन मानिन्छ । वि.सं २०३२ मा स्थापना भएको निकुञ्ज १ हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्