भद्रपुर, साउन १५ । मेची अस्पताल भद्रपुरको स्वास्थ्य सेवालाई चुस्त–दुरुस्त र नियमित बनाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको छ ।

मेची प्रादेशिक अस्पताल सुधार समितिले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिलाई ३५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो । सुधार समितिका अध्यक्ष दीपक तिम्सिना, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, माओवादीका क्षेत्रीय अध्यक्ष डिल्ली घिमिरे हिक्मत लगायतको टोलीले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्व बराल र मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
अस्पतालका विविध क्षेत्रमा सुधार गर्दै स्वास्थ्य सेवालाई चुस्त–दुरुस्त र नियमित बनाउने उद्देश्यले ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ ।

‘मेची अञ्चलकै सबैभन्दा पुरानो मेची अस्पतालले आम जनसमुदायलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको सर्वविदितै छ । मेची अस्पतालको मात्रै नभएर आम झापा तथा मेची अञ्चलकै गौरव र निम्न आय भएका आम मानिसको स्वास्थ्य सेवा लिने निर्विकल्प स्वास्थ्य संस्था पनि हो’, ज्ञापनपत्रमा भनिएको छ, । स्वास्थ्यजस्तो संवेदनशील सेवा दिइरहेको उक्त अस्पताल विगत लामो समयदेखि विविध कारण अस्तव्यस्त मात्रै छैन, समितिको हेलचेक्र्याइँ तथा चिकित्सक र कर्मचारीको लापरबाहीले आम मानिस स्वास्थ्य सेवाबाट नै विमुख हुनुपर्ने दुःखद अवस्था उत्पन्न भइरहेको छ ।’

समितिका अध्यक्ष विश्व बरालले अस्पतालको सुधारका लागि केही कामको थालनी गरिएको र केही थाल्न लागिएको बताए । सुधार समितिले स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकालाई बोदार्थ दिएको छ । सुधार समितिको माग २१ दिनभित्र पूरा नभए कडा संघर्षका कार्यक्रम ल्याउने ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्