झापा(प्रस) । नेपालमा कोरोना संक्रमणको रफ्तार बढ्दै गएको छ । सोमबार एकैदिन झापामा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
साउन १ देखि १६ गतेसम्म झापामा १८८ जना नयाँ संक्रमित थपिएका छन् । साउन १ गते १७ , २ गते ६ , ३ गते ५ , ४ गते १२ , ५ गते १० , ६ गते १९ , ८ गते ३२ , ९ गते १२ , १० गते १२ , ११ गते ९ , १२ गते ११ , १३ गते ८ , १५ गते १६ र १६ गते १९ जनामा संक्रमण स्वास्थ्य कार्यालय झापाको तथ्यांकले देखाएको छ । सोमबार देशभर ८९५ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको छ र एक जनाको मृत्यु भएको छ । आइतबार ६२० जनामा संक्रमण देखिएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
साउन १ देखि १६ गतेसम्म ७ हजार ९२३ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । साउन १ गते संक्रमण दर ४.४३ प्रतिशत रहेकोमा साउन १६ गते संक्रमण दर बढेर १५.१४ प्रतिशत पुगेको छ । देशभर कोरोनाको सक्रिय संक्रमित ४ हजार ९३४ जना रहेका छन् । जसको आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । यो दुई हप्तामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा धेरैजसो ज्येष्ठ नागरिक र खोप नलगाएका छन् । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो ।