झापा , साउन १७ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ ।

जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूणर्रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ । यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको छ म्याग्निच्यूडको भूकम्पले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित थर्पुडाँडा मा.वि.को चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित सुर्केडाँडा मा.वि.को चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका-२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूणर्रूपमा भत्किएको छ । साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईले भूकम्पको ‘इपिसेन्टर’ साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिए । उनका अनुसार बाँझेच्यानडाँडामा एक सय ३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा एक सय पाँच र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा छ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक-एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए । “स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिरोको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ”, उनले भने, “जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरण चाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ ।” विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् । भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जाने क्रम जारी रहेकाले सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई आग्रह गरिएको प्रजिअ सेढाईँले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्