झापा, साउन १७ । भारत लैजाँदै गरेको लागूऔषध गाँजासहित मोरङको जहँदा गाउँपालिका-२ हरिनगराबाट मंगलबार बिहानको राति एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा गएको टोलीले राति १२ः४५ बजेतिर जहँदा-२ का २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको हो । टाउकोमा बोकेर भारतको जोगवनीतिर लैजाँदै गरेको ३६ किलो गाँजासहित गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोली पुग्दा तीनजना युवाले टाउकोमा बोकेर गाँजा भारततिर लैजाँदै थिए । प्रहरीलाई देख्नासाथ दुईजना भने गाँजा फालेर फरार भएको श्रेष्ठले बताए । ‘तीन जनाले टाउकोमा बोकेर गाँजा भारत लैजाँदै थिए,’ उनले भने, ‘एक जनालाई पक्राउ गरिए पनि अन्य दुईजना फरार भए ।’ फरार भएकाको खोजी तीव्र पारिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार प्लाष्टिकमा प्याक गरेर ३६ किलो गाँजा भारत कटाउन खोजिएको थियो । पक्राउ परेका गुरुङविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्