झापा, साउन १८ । मोरङको सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियामा सर्पले टोकेर मंगलबार बालिकाको मृत्यु भएको छ ।

सर्पको टोकाइबाट देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार खुट्टामा सर्पले टोकेर बेहोस भएको अवस्थामा समीक्षा घरको कोठाभित्रै भेटिएकी थिइन् । खुट्टाबाट रगत बगिरहेको र बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि अभिभावकले सुनसरीको इटहरीमा नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा लागेका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा बिहान पौने १२ बजेतिर बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ । कुन सर्पले टोकेको भन्ने यकिन हुन बाँकी छ । तर मृतक बालिकाका अभिभावकले घटनाको केही बेरपछि घरमा गोमन सर्प भेटिएको जानकारी प्रहरीलाई गराएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्