झापा , साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू झापा क्षेत्र नं ३ बाटै उठ्ने बताएका छन् ।

आज दिउँसो बिर्तामोडमा झापाली पत्रकारहरुसंग भेटघाट गर्दै झापा क्षेत्र नं ३ का सांसद लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने बताएका हुन् । उनले पत्रकारहरुसंग कुरा गर्दै भने ,‘ ३ नं क्षेत्र छोडेर कहाँ जान्छु र ? मेरा देवी देवता त्यही छन् ।’
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसंग गठबन्धन गरेर चुनाव जितेका सांसद लिङ्देनले यस पटक पनि गठबन्धन गरेर निर्वाचनमा जाने संकेत दिएका छन् । ‘जित्नको लागि चुनाव लड्ने हो ’ एमालेसंग गठबन्धन गर्ने संकेत गर्दै उनले भने ,‘त्यसको लागि गठबन्धन आबश्यक छ ।’ उनले चुनावमा गठबन्धन बनाउनु स्वाभाविक र प्राकृतिक कुरा भएको दावी गरे ।
‘ चुनावमा नेचुरेली रुपमा गठबन्धन बन्दै जान्छ ’ उनले भने । विचारको आधारमा गठबन्धन नबनेपनि त्यसमा विचारको आवरण रहने उनको भनाई छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा जितेपछि पहिलो पटक लिङ्देनले गृहजिल्लाका पत्रकारहरुसंग अन्तरक्रिया गरेका हुन् । उनले पत्रकारहरुबाट सल्लाह सुझाव लिएका थिए ।