युएई,साउन १८ । सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली चेली जानकी थापा मगरलाई बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेका छन् ।

युएईमा दुई महिनाअघि सवारी दुर्घटनामा परेकी थापा मगरको उपचारका लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले व्यहोरेका हुन् । थापा मगर भोलि बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने प्रसाईको सचिवालयले जनाएको छ ।

रोजगारीको सिलसिलामा युएईमा दुर्घटनामा घाइते भई कोमा पुगी दुबईमा अलपत्र अवस्थामा रहेकी थापा मगरलाई नेपाल फर्काउन आर्थिक समस्या भएको जानकारी प्राप्त हुनासाथ मानवताको आधारमा यो सहयोग गरिएको जनाइएको छ । पीडित थापा मगरलाई परिवारसँग मिलन गराउने र थप उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रसाईले जानकारी दिएका छन् । परिवार पाल्नकै लागि विदेश गएर घाइते तथा अङ्गभङ्ग भई नेपाल फर्कन लागेकी थापा मगरलाई विगत भुलेर बाँकी जीवन जिउनका लागि आवश्यक सहयोग,सान्त्वना र उत्साह थप्नु सबैको दायित्व भएको जनाउँदै उक्त पारिवारिक मिलन कार्यमा उपस्थित भई यस अभियानमा साथ सहयोग र सदिच्छा राखिदिन सम्पूर्ण सञ्चारकर्मीलाई प्रसाईले अनुरोध गरेका छन् ।

बिएन्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिस गिरीले सामुदायिक उत्तरदायित्वअन्तर्गत प्रसाईले बिगतमा धेरै बिरामीहरुलाई सहयोग गरेको र यसै सिलसिलामा बिदेशमा पीडित नेपालीहरुको दुःखमा सहजीकरण गरेको जानकारी दिए । गिरीका अनुसार बिरामीलाई अत्याधुनिक ह्वील चेयर र मेडिकल टिमसहितको टोलीले नेपाल एयरलाइन्सको उडानबाट नेपाल पु¥याउनेछ ।

पीडितका अभिभावकले आफ्नी छोरीलाई नेपाल फर्काउन महत्वपूर्ण सहयोग गर्ने मनकारी व्यक्तित्व दुर्गा प्रसाईप्रति नेपाल सरकारले गर्न नसकेको काम गरिदिएकोमा आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्